आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालित कार्यक्रम, योजना, भौतिक निर्माण, करार कर्मचारी नियुक्ति, दैनिक हाजिरी रजिस्टरलगायतका फाइलहरू जफत गरिएको छ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
सर्लाही –
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास टोलीले शुक्रबार बिहान ११ बजे सर्लाही स्वास्थ्य कार्यालयमा छापा मारी महत्त्वपूर्ण दस्तावेज र फाइलहरू नियन्त्रणमा लिएको छ। छापा बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म चलेको स्रोतले जनाएको छ।

आर्थिक वर्ष २०८०/०८१ र चालु आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालित कार्यक्रम, योजना, भौतिक निर्माण, करार कर्मचारी नियुक्ति, दैनिक हाजिरी रजिस्टरलगायतका फाइलहरू जफत गरिएको छ। दुई वर्षमा कुल ५२ करोड ५१ लाख ८२ हजारको बजेट सञ्चालन भएकोमा हिनामिना भएको उजुरीपछि छापा मारिएको कार्यालयका एक कर्मचारीले बताए।
विशेषगरी, बर्थिंग सेन्टर निर्माण र खोप कार्यक्रमका लागि २०८०/०८१ मा ३६ करोड र चालु वर्षमा १६ करोड ५१ लाख ८२ हजार बजेट खर्च भएको थियो। कन्टिजेन्सी शीर्षकमा आएको डेढ करोडभन्दा बढी रकममा अनियमितता भएको आरोप छ। साथै, अस्थायी र दैनिक ज्यालादारी कर्मचारी नियुक्तिमा पनि चलखेल भएको आशंकामा अख्तियारले गहन सोधपुछ गरेको स्रोतले जनाएको छ।