२०८२ असार १७ गते, मंगलवार ०१:२०
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • ठगी र धम्की: रानीघाटका व्यवसायी नगीना साह कानुले ठाकुरशिला ट्रेडर्सबाट खरिद गरेको मनोज ग्यासको सिलिन्डरमा ४ किलो तौल कम भएको पाइयो। डिलर विनय साह कलवार र कम्पनी प्रतिनिधि अरुण कुमार दासले जाँचको बहानामा सिल तोड्ने प्रयास गर्दा धम्की दिए, जसले स्थानीयमा आक्रोश र त्रास फैलिएको छ।
  • प्रशासनको लापरबाही: बैशाख १६ मा दर्ता भएको उजुरी (नं. ११३२) मा सिडियो गणेश अर्यालले सिलिन्डर जफत गरे तर कानुनी प्रक्रिया (मुचुल्का) पालना नगरी अनुसन्धानमा ढिलाइ गरे। जफत सिलिन्डर फिर्ता नहुँदा नगीनाको व्यवसायमा सङ्कट थपिएको छ।
  • दबाब र ढिलाइ: ग्यास डिलर सङ्घ, धोग वाणिज्य सङ्घ र राजनीतिक प्रभावका कारण अनुसन्धानमा ढिलाइ भएको आरोप छ। डिलर विनय नेकपा (एकीकृत समाजवादी) का नेता र मनोज ग्यासका सञ्चालक वीरगन्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष छन्। पीडितले तत्काल न्याय र दोषीलाई कारबाहीको माग गरेका छन्।

वीरगन्ज-

वीरगन्जको रानीघाटमा खाजा–नास्ता व्यवसायी नगीना साह कानुको परिवार करीब दुई महिनादेखि न्यायको खोजीमा जिल्ला प्रशासन कार्यालयको चक्कर काट्दा–काट्दै थकित भएको छ। बैशाख १३ गते राति ठाकुरशिला ट्रेडर्स, मनोज ग्यासको आधिकारिक वितरकबाट खरिद गरेको सिलिन्डरमा ४ किलो तौल कम भएको पाइएपछि शुरू भएको यो कथा ठगी, धम्की र प्रशासनको उदासीनताको दर्दनाक गाथा बनेको छ। नगीनाले उजुरी बोकेर हिँड्दा न कम्पनीले जवाफ दियो, न प्रशासनले न्याय। बरु, धम्की र निराशा मात्र हात लाग्यो, जसले उनको पसल सञ्चालनमै समस्या थपिएको छ।

ठगीको सिलिन्डर, कम्पनीको धम्की

नगीनाले बैशाख १४ गते डिलर विनय साह कलवारलाई सिलिन्डरमा तौल कम भएको जानकारी गराए। विनयले कम्पनीबाटै गल्ती भएको भन्दै प्रतिनिधि पठाउने आश्वासन दिए। तर, बैशाख १५ गते मनोज ग्यासका प्रतिनिधि अरुण कुमार दाससहितको टोलीले सिलिन्डर जाँच्ने बहानामा सिल तोड्ने कोसिस गर्‍यो। नगीनाले विरोध गर्दा अरुणले धम्कीपूर्ण लवजमा भने, “हामीलाई केही हुँदैन, तिमीलाई फसाइदिन्छौं” नगीनाका छोराहरू सरोज र सनोजले यो धम्कीको पुष्टि गरेका छन्।

प्रशासनको लापरबाही: कानुनको उल्लङ्घन

न्यायको आशमा सरोजले बैशाख १६ गते वीरगन्जस्थित वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालयमा ठाकुरशिला ट्रेडर्स र मनोज ग्यासविरुद्ध उजुरी( दर्ता नं. ११३२)दर्ता गराए। तर, प्रमुख जिल्ला अधिकारी ९सिडियो० गणेश अर्यालले यो मुद्दा आफूहरूले हेर्ने भन्दै सिलिन्डर जफत गरे। उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार घटनास्थलमा मुचुल्का तयार गरी सिलिन्डर नियन्त्रणमा लिनुपर्ने प्रावधान भए पनि प्रशासनले यो प्रक्रिया पालना गरेन। जिल्ला प्रशासान कार्यालयमा पिडित , केहि स्थानिय र गोप्यखबरका प्रतिनिधिले यसतो कार्याको बिरोध गरे पछि त्यहाँ कार्यालयमा मुचुल्का बनाईएको थियो ।  जफत गरिएको सिलिन्डर नगीनाले फिर्ता पाएका छैनन्, जसले उनको व्यवसायमा थप सङ्कट निम्त्याएको छ। बैशाख २२ देखि शुरू भएको अनुसन्धान करीब दुई महिना बित्दा पनि टुङ्गिएको छैन।

दबाब र ढिलाइको कालो खेल

सिडियो अर्यालले दुई हप्ताअघि गोप्यखबरलाई ठगीमा संलग्न डिलर विनय साह कलवार र मनोज ग्यासमाथि ठूलो जरिमाना गर्ने निर्देशन दिएको दाबी गरेका थिए। उनले साहायक सिडियो सुमन कुमार कार्कीलाई फाइल पठाएको र प्रहरीमार्फत उजुरी आएको भए ठगी मुद्दा चलाउने बताएका थिए। तर, मंगलबारसम्म कुनै निर्णय भएको छैन। साहायक सिडियो कार्कीले आज फाइल प्राप्त भएको र ३–४ दिनभित्र निर्णय गर्ने बताएका छन्। तर, स्रोतहरूका अनुसार, ग्यास डिलर सङ्घ, धोग वाणिज्य सङ्घ र राजनीतिक दबाबले अनुसन्धानमा ढिलाइ भइरहेको छ। डिलर विनय साह कलवार नेकपा (एकीकृत समाजवादी) का नेता तथा वडाध्यक्षको चुनाव हारेका व्यक्ति हुन् भने मनोज ग्यासका सञ्चालक मनोज दास वीरगन्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष छन्। यस्तो प्रभाव र पहुँचले सिडियोको स्वच्छ छविमाथि प्रश्नचिह्न खडा भएको छ।

पीडितको आक्रोशस: “हाम्रो गल्ती के ?”

“हामीले गल्ती के गर्‍यौं ? सिलिन्डरमा ठगी भयो, उजुरी गर्दा धम्की खायौं, अनि प्रशासनले सिलिन्डर खोसेर हामीलाई नै सास्ती दियो,” सनोजले रुँदै भने। “यो सिलिन्डर नपाउँदा हाम्रो पसल चलाउनै गाह्रो भएको छ। सिडियो साहेब, हामीलाई कहिले न्याय दिनुहुन्छ ? ” उपभोक्ता संरक्षण ऐन, २०७५ ले सिडियोलाई बजार अनुगमन, तत्काल सुनुवाइ र दोषीलाई कारबाही गर्ने अधिकार दिए पनि कर्मचारी अभाव, प्रक्रियागत जटिलता र व्यापारीसँगको मिलेमतोले उपभोक्ताहरू मर्कामा परेका छन्।

सिडियो साहेब, यो ठगीको सिलसिला कहिलेसम्म ?

वीरगन्ज माहानगरपलिका वडा नं.९ मा बस्ने शतिष सिहले यस घटनाबारे चिन्ता जनाउदै भने  “वीरगन्जमा म्याद गुज्रेका सामानको बिक्री, नक्कली वस्तुको व्यापार र अनियन्त्रित मूल्यवृद्धिका घटनामा प्रशासनको हस्तक्षेप नहुँदा उपभोक्ताहरू निरन्तर ठगिँदै आएका छन्। मनोज ग्यासको यो ठगी प्रकरणले प्रशासनको लाचारी र व्यापारीको मनपरीतन्त्रलाई उजागर गरेको छ। सिडियो साहेब, यो ठगीको सिलसिला कहिलेसम्म चल्ने ? पीडित नगीनालाई सिलिन्डर फिर्ता र ठगहरूलाई कारबाही कहिले हुने ? स्थानीय प्रशासनमाथि तत्काल कदम चालेर पीडितलाई न्याय र दोषीलाई सजाय दिनुपर्ने माग जोडतोडले उठेको उनले बताए ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस