२०८२ असार १६ गते, सोमबार २०:०२

NB.1.8.1 भाइरस श्वासप्रश्वासमार्फत सर्छ र सामान्य फ्लूजस्तै लक्षण देखिन्छन्। डा. पुनका अनुसार रुघा, खोकी, घाँटी दुख्ने, ज्वरो, आलस्य, मांसपेशी दुख्ने, नाक बन्द हुने, झाडापखाला आदि यसका प्रमुख लक्षण हुन्।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  नेपालमा कोरोना संक्रमण वृद्धि: हालसम्म १५५ जनामा कोभिड-१९ पुष्टि भएको छ, नयाँ ओमिक्रोन भेरियन्ट NB.1.8.1 का कारण त्रास बढेको छ।
  •  NB.1.8.1 को लक्षण र जोखिम: यो भाइरस अत्यधिक संक्रामक भए पनि कम घातक छ, तर ज्येष्ठ नागरिक र दीर्घरोगीलाई उच्च जोखिम रहेको चिकित्सकहरूले बताएका छन्।
  • रोकथाम र सरकारी तयारी: मास्क, हात धुने, भीड टार्ने जस्ता उपाय अपनाउन सुझाव दिइएको छ। सरकार सतर्क रहेको र स्वास्थ्य सामग्रीको तयारी गरिएको जानकारी दिइएको छ।

काठमाडौँ –

नेपालमा हालसम्म १५५ जनामा कोरोना भाइड-१९ को सङ्क्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो एक सातामा बागमती प्रदेशमा १९, मधेशमा ४, सुदूरपश्चिममा ४, कोशीमा २ र गण्डकीमा १ जना सङ्क्रमित फेला परेका छन्। भारतमा तीव्र गतिमा फैलिएको ओमिक्रोनको विकसित रूप NB.1.8.1 भाइरसका कारण नेपालमा पनि त्रास बढेको छ।

NB.1.8.1 भाइरस: संक्रामक तर कम घातक
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार NB.1.8.1 ओमिक्रोनको विकसित रूप हो, जुन अत्यधिक संक्रामक भए पनि कम घातक छ। “यो भाइरसले जोखिम समूहलाई अस्पताल पुर्‍याउन सक्छ, तर आइसियू भर्ना दर निकै कम छ,” उनले भने। भारतमा जनसङ्ख्या धेरै र स्वास्थ्य मापदण्ड पालना कम भएकाले सङ्क्रमण बढेको हुन सक्ने उनको भनाइ छ। नेपालमा कोभिड आउने-जाने क्रम सामान्य भएकाले आत्तिनुपर्ने अवस्था नरहेको, तर सतर्कता अपनाउनुपर्ने उनले जोड दिए।

लक्षण र जोखिम
NB.1.8.1 भाइरस श्वासप्रश्वासमार्फत सर्छ र सामान्य फ्लूजस्तै लक्षण देखिन्छन्। डा. पुनका अनुसार रुघा, खोकी, घाँटी दुख्ने, ज्वरो, आलस्य, मांसपेशी दुख्ने, नाक बन्द हुने, झाडापखाला आदि यसका प्रमुख लक्षण हुन्। “लक्षण सामान्य देखिए पनि ज्येष्ठ नागरिक र दीर्घरोगीले हेलचेक्र्याइ गरे मृत्युको जोखिम हुन सक्छ,” उनले चेतावनी दिए। यो भाइरस हाछ्युँ, सिङ्गान, खकार वा थुकको छिटामार्फत सर्छ।

रोकथामका उपाय
डा. पुनले भीडभाडमा नजाने, मास्क लगाउने, साबुनपानीले हात धुने, रुघाखोकी लाग्दा सतर्क रहने जस्ता उपाय अपनाउन सुझाएका छन्। “वेवास्ता गर्नु हुँदैन, तर आत्तिनुपर्ने अवस्था पनि छैन,” उनले भने।

सरकारको तयारी
महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्यमन्त्रीसँगको बैठकपछि सतर्कता बढाइएको बताए। सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्कलाई प्रभावकारी बनाइएको छ। कोरोना परीक्षण किट स्टकमा रहेको र आवश्यकता अनुसार वितरण गरिने उनले जनाए। महाशाखाले जनचेतना फैलाउने र औषधिजन्य सामग्रीको व्यवस्था गरिरहेको उनको दाबी छ। “हामी महामारीसँग जुध्न तयारी अवस्थामा छौँ,” डा. झाले भने।

नेपालमा NB.1.8.1 भाइरसको सङ्क्रमण बढ्ने जोखिम रहे पनि यो कम घातक छ। सामान्य सतर्कता र स्वास्थ्य मापदण्ड पालना गरेमा जोखिम कम गर्न सकिन्छ। विशेषगरी जोखिम समूहले लक्षण देखिएमा तुरुन्त स्वास्थ्य जाँच गराउनुपर्ने चिकित्सकहरूको सुझाव छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस