२०८२ असार १६ गते, सोमबार १९:५०
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • छापामारी र पक्राउ: अख्तियारले पोखरिया नगरपालिकामा अनियमितताको आशंकामा छापा मारेर कर्मचारी सन्दीप साहलाई घरबाट पक्राउ गर्‍यो।
  •  अनियमितता र जफत: कर्मचारी भर्ना, ठेक्का, खरिद र बजेटमा अनियमितता भेटिएपछि लेखा, योजना र प्रशासन शाखाबाट कागजात, डिजिटल डेटा र उपकरणहरू जफत गरिएको छ।
  • भ्रष्टाचारविरुद्ध कारबाही: यसअघि पनि पोखरियाकै प्रशासकीय अधिकृत पक्राउ परेका थिए, र अख्तियारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाएको स्पष्ट गरेको छ।

वीरगन्ज –

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले पर्सा जिल्लाको पोखरिया नगरपालिकामा छापामारी गरेको छ। छापामारीका क्रममा नगरपालिकामा कार्यरत कर्मचारी सन्दीप साहलाई वीरगन्जको प्रगतीनगरमा रहेको उनको घरबाट पक्राउ गरिएको छ। विभिन्न योजना, खरिद प्रक्रिया, कर्मचारी नियुक्ति र बजेट विनियोजनमा अनियमितता र अवैध क्रियाकलाप भएको आशंकामा छापा मारिएको श्रोतले जनाएको छ। यो समाचार लेखिरहँदा पनि छापामारी कार्य जारी रहेको छ।

श्रोतका अनुसार, पोखरिया नगरपालिकाले अनाधिकृत रूपमा कर्मचारी भर्ना, ठेक्का प्रक्रिया, मालसामान खरिद, बजेट विनियोजन र योजनाको कार्यान्वयनमा कानुनविपरीत कार्य गरेको भन्ने उजुरीका आधारमा प्रारम्भिक अनुसन्धान गरिएको थियो। उक्त अनुसन्धानमा ठूलो मात्रामा अनियमितताको सम्भावना देखिएपछि आयोगको टोलीले नगरपालिकाका लेखा, योजना र प्रशासन शाखामा एकैसाथ छापा मारेको छ।

छापामारीका क्रममा अख्तियारको टोलीले सम्बन्धित कागजात, प्राविधिक उपकरण र डिजिटल डेटा जफत गरिरहेको छ। करारमा नियुक्त कर्मचारीहरूको प्रक्रिया, योजनाको मूल्यांकन, कामको प्रगति विवरण, भुक्तानी सम्बन्धी अभिलेख र बजेट विनियोजनसँग सम्बन्धित दस्तावेजहरूको चेकजाँच भइरहेको आयोगले जनाएको छ।

यसअघि, अख्तियारले पोखरिया र बहुदरमाई नगरपालिकासँग सम्बन्धित घुस प्रकरणमा पोखरियाकै निम्ति प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई पक्राउ गरिसकेको छ। स्थानीय बासिन्दाले लामो समयदेखि नगरपालिकामा भ्रष्टाचारको गुनासो गर्दै आएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै कुनै पनि तहको सरकारी निकायमा हुने अवैध कार्यमाथि कडाइका साथ अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको छ। यो छापामारी र पक्राउले स्थानीय तहमा हुने अनियमितता र भ्रष्टाचारविरुद्ध आयोगको कठोर कदमलाई प्रस्ट्याएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस