२०८२ असार २१ गते, शनिबार ००:५९
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • मेयरलाई चुनौती: अरविन्द गुप्ताले मेयर राजेशमान सिंहलाई जीर्ण भवन भत्काएर नयाँ बनाउन र घरको बाटोमा वरुणयन्त्र प्रवेश गराउन चुनौती दिए।
  • तोडफोडको आलोचना: विकासको नाममा क्लासिक होटललगायत भवन भत्काइए पनि नयाँ निर्माण नभएको भन्दै मेयरको प्रचारबाजीको विरोध।
  • बन्द आह्वान: मेयरको कार्यशैलीविरुद्ध शुक्रबार बिहान ११ बजेसम्म मुख्य सडकका पसल बन्द गर्ने समितिको निर्णय।

वीरगन्ज –

वीरगन्ज बचाउ संघर्ष समितिले बिहीबार आयोजित कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै विरोध गरेको छ।  नेता अरविन्द गुप्ताले मेयर सिंहलाई “दम छ भने महानगरपालिकाको जीर्ण र कमजोर भवनहरू भत्काएर त्यहाँ नयाँ संरचना निर्माण गर्न” र “आफुबस्ने घरको बाटोमा वरुणयन्त्र प्रवेश गराउन” चुनौती दिएका छन्।

गुप्ताले मेयर सिंहमाथि सस्तो लोकप्रियता र प्रचारबाजीमा मात्रै ध्यान दिएको आरोप लगाए। उनले भने, “मेयर सिंहले केही मिडियालाई लाखौं रकम खर्चेर आफ्नो प्रचारमा कामदारको रूपमा प्रयोग गरेका छन्। मिडियाको काम सत्य र तथ्यमा आधारित समाचार प्रस्तुत गर्ने हो, तर मेयरको प्रभावमा केही मिडियाले भ्रामक र गलत सूचना मात्रै प्रवाह गरिरहेका छन्।”

उनले मेयरको तीनवर्षे कार्यकालमा ठोस विकास नभएको जिकिर गरे। “मेयर सिंहले दुई वर्षदेखि एस.ई.ई. परिणाममा सुधार भएको, शिक्षा र स्वास्थ्यमा परिवर्तन ल्याएको दाबी गर्छन्, तर यथार्थमा केही देखिँदैन। अधिकांश मिडिया लालचमा बिकेका छन्, अब केही स्वतन्त्र मिडियामात्र जनताले विश्वास गर्ने अवस्थामा छन्,” गुप्ताले भने।

गुप्ताले विकासको नाममा तोडफोड मात्र भएको भन्दै प्रश्न उठाए। “क्लासिक होटल र अन्य भवनहरू भत्काइयो, तर त्यहाँ के निर्माण भयो? वीरगन्जले के पायो? विकास तोडफोड मात्र होइन, भत्काइएका संरचनाको ठाउँमा नयाँ निर्माण हुनुपर्छ। मेयरज्यू, पहिला बजेट र योजना ल्याउनुस्, भत्काइएका संरचनाहरू पुनर्निर्माण गर्नुस्, आफु बस्ने घरको गल्लीमा वरुणयन्त्र प्रवेश गर्ने बनाउनुस अनि मात्र विकासको कुरा गर्नुस्,” उनले जोड दिए।

गुप्ताले समितिको अडान स्पष्ट पार्दै भने, “हामी विकासको विरोधी होइनौं, तर विकासको नाममा जथाभावी तोडफोड स्वीकार्य छैन।” उनले मेयर सिंहलाई आफ्नो नयाँ घरको नक्सा सार्वजनिक गर्न र कानुनी प्रक्रियामा पारदर्शिता अपनाउन पनि आग्रह गरे।

यो कार्यक्रममा समितिका अध्यक्ष जवाहर प्रसाद गुप्तालगायत अन्य नेताहरूले पनि मेयरको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका थिए। समितिले शुक्रबार बिहान ११ बजेसम्म मुख्य सडकका पसलहरू बन्द गरेर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस