२०८२ असार २६ गते, बिहीबार १२:१५
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • ऐतिहासिक कारबाही: नेपाली कांग्रेस पर्साले पहिलोपटक क्षेत्रीय सभापति अरबिन्द गुप्तालाई निर्वाचनमा अन्तरघात गरेको आरोपमा साधारण सदस्यतासहित पार्टीबाट निस्कासित गरेको छ।
  • अन्तरघात र टिकट बिक्रीको आरोप: गुप्तामाथि पार्टी उम्मेदवारविरुद्ध रणनीतिक अन्तरघात गरेको र स्थानीय निर्वाचनमा टिकट बिक्री गरेको गम्भीर आरोप प्रमाणित भएको अनुशासन समितिको ठहर छ।
  • कठोर निगरानीको तयारी: पर्सा कांग्रेसले अनुशासन कायम राख्न कडा निगरानी र सुधार प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ, कार्यकर्ताले कारबाहीलाई सकारात्मक मानेका छन्।

वीरगन्ज –

नेपाली कांग्रेस पर्सा जिल्लाको राजनीतिक इतिहासमा पहिलोपटक पार्टीभित्र निर्वाचनमा अन्तरघात गर्ने क्षेत्रीय सभापति अरबिन्द गुप्तालाई केन्द्रीय अनुशासन समितिले साधारण सदस्यतासमेत खोस्दै पार्टीबाट निस्कासित गरेको छ। अनुशासन समितिको २०८२/०३/१७ को बैठकले संघीय र प्रदेश निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध सक्रिय अन्तरघात गरेको प्रमाण फेला परेपछि यो कडा कारबाही गरेको हो।

पर्सा कांग्रेसले यो कारबाहीलाई “पार्टी इतिहासकै पहिलो उदाहरणीय अनुशासन कारबाही” को रूपमा लिएको छ। गुप्तामाथि पार्टी उम्मेदवारहरूसँग असहयोग गरेको, रणनीतिक ढंगले अन्तरघात प्रोत्साहन गरेको र स्थानीय निर्वाचनमा उम्मेदवारको टिकट बिक्री गरेको गम्भीर आरोप लागेको थियो।

पर्सा कांग्रेसका कार्यवाहक सभापतिले चेतावनी दिँदै भने, “अब कांग्रेसभित्र ढोका एउटै खोल्ने, तर मन र योजना प्रतिपक्षसँग मिलाउनेहरूलाई सहन सकिँदैन। अनुशासन उल्लंघन र अन्तरघात गर्ने जो कोहीलाई कारबाहीको दायरा ल्याइनेछ। पार्टीलाई हराउने खेल खेल्नेहरूलाई न नेताको मान्यता दिइन्छ, न सदस्यताको अधिकार।”

अनुशासन समितिका संयोजक रमेश पाण्डेले प्रतिक्रिया दिँदै भने, “यो कारबाही चेतावनी हो। कांग्रेसभित्र रहेर कांग्रेसलाई हराउनेहरू अब उम्कन सक्दैनन्। हामी संगठनको हितमा कुनै सम्झौता गर्दैनौं। अन्तरघात र टिकट बिक्री गर्नेहरूलाई एकपछि अर्को कारबाहीको दायरामा ल्याइनेछ।”

पार्टीले यस्ता घटना दोहोरिन नदिन कठोर निगरानी र सुधार प्रक्रिया अघि बढाउने तयारी गरेको छ। कार्यकर्ताहरूले यो कारबाहीलाई “सकारात्मक र साहसी कदम” को रूपमा स्वागत गरेका छन्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस