२०८२ असार २९ गते, आईतवार १९:०७

वीरगन्ज–

पर्सा जिल्लाको कालिकामाई गाउँपालिका–२ बस्ने नाजिर गदिलाई अशोक इस्टिल इन्डस्ट्रिज प्रा.लि.को नाममा नकली कागजात र चेक प्रयोग गरी ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

वीरगन्जको जितपुरमा सञ्चालित अशोक इस्टिल इन्डस्ट्रिजको नकली लेटर प्याड र चेक प्रयोग गरी अलखिया मठमा सञ्चालित एयरलोन नेपाल इन्टरप्राइजेजबाट १० वटा एसी खरिद गरी ठगी गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार गदिलको समूहले असार २० गते नकली अफर लेटर बनाएर एयरलोन नेपालका सुपरभाइजर अर्जुन साहसँग १० वटा एसीको कोटेसन माग गरेको थियो।

कोटेसनअनुसार गदिलको समूहले रु. ८ लाख ९० हजार ६६० को माछापुछ्रे बैंकको चेक साहलाई दिएर एसी लगेका थिए। तर, बैंकमा चेक साट्न जाँदा उक्त खाता दुई वर्षअघि नै बन्द भएको खुलासा भयो। ठगी भएको थाहा पाएपछि असार २५ गते जाहेरी परेपछि प्रहरीले छानबिन गर्दा वीरगन्ज महानगरपालिका–३२ मिलन चौकस्थित गदिलको घरबाट एक थान एसीसहित उनलाई पक्राउ गरेको हो।

प्रवक्ता लम्सालले गदिल एक्लै नभई उनको समूह सक्रिय रहेको र घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताए।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस