२०८२ असार २९ गते, आईतवार १९:०६

वीरगन्ज –

वीरगन्जको नारायणी अस्पतालमा स्तन क्यान्सर जाँच (मेमोग्राम) र बाँझोपन उपचार (आईयूआई) सेवा सुरु भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यी दुवै सेवाको उद्घाटन गरेका छन्। अस्पतालका सूचना अधिकारी तथा वरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहका अनुसार मधेस प्रदेशको सरकारी अस्पतालमा यी सेवाहरू पहिलो पटक सञ्चालनमा आएका हुन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले यी सेवाले बाँझोपनको समस्याबाट पीडित दम्पतीका लागि आशाको केन्द्र बन्ने र स्तन क्यान्सरको स्क्रिनिङले रोगको समयमै पहिचान हुने बताए। यसअघि पाठेघरको मुखको क्यान्सर जाँच, केमोथेरापी र स्क्रिनिङ सेवा पनि सञ्चालनमा आइसकेको उनले जानकारी दिए।

उद्घाटन कार्यक्रममा मन्त्री पौडेलले नारायणी अस्पताल मधेस प्रदेशमा संघीय सरकारको एकमात्र अस्पताल भएको उल्लेख गर्दै यसको सेवा गुणस्तर वृद्धिका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए। उनले स्वास्थ्यकर्मीको इमानदारी र राजनीतिक दलको सहयोग भएमा एक वर्षभित्र नारायणी अस्पताल देशकै नमूना अस्पताल बन्ने दाबी गरे। साथै, क्याथ ल्याबको काम अन्तिम चरणमा पुगेको र चाँडै मुटुको शल्यक्रिया सेवा सुरु हुने जानकारी दिए।

मन्त्री पौडेलले स्वास्थ्यकर्मीलाई बिहान १० देखि साँझ ५ बजेसम्म अनिवार्य ड्युटी गर्न र अस्पताललाई कर्मचारी भर्तीको केन्द्र नबनाउन निर्देशन दिए। मेसु डा. दासले ५०० शैयाको अस्पताल भवनको मुद्दा सर्वोच्च अदालतबाट टुंगिएको र बजेट विनियोजन भइसकेकाले चाँडै शिलान्यास हुने बताए। क्याथ ल्याबको उपकरण जडान भइरहेको र साउनदेखि सेवा सुचारु हुने उनले जानकारी दिए।

अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र, नेपाल कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रेश्वर यादव, कार्यवाहक सभापति रामनारायण कुर्मी, क्षेत्रीय सभापति महमद साहबुदिनलगायत सहभागी थिए।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस