वीरगन्ज –

खानेपानी मन्त्री प्रदीप यादवले तराई क्षेत्र, विशेषगरी पर्सा र बारामा देखिएको खानेपानीको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न मन्त्रालयले सक्रियतापूर्वक काम गरिरहेको बताएका छन्। सोमबार वीरगन्ज वडा नम्बर ९ का वडा अध्यक्ष जवाहर गुप्तासहितको टोलीसँग खानेपानी समस्याबारे गुनासो सुन्ने क्रममा गोप्यखबर सग मन्त्री यादवले यस्तो बताए।
मन्त्री यादवले जलवायु परिवर्तनका कारण तराईका जिल्लाहरूमा खानेपानीको चरम अभाव देखिएको उल्लेख गर्दै तत्कालीन समाधानका लागि मन्त्रालयले स्थानीय सरकारसँग समन्वय गरी डिप बोरिङको कार्यलाई तीव्रता दिएको जानकारी दिए। यद्यपि, यो समस्याको दीर्घकालीन समाधानका लागि सुनकोशी मरिन डाइभर्सन आयोजनालाई पर्सा र सिरहासम्म विस्तार गर्ने योजना रहेको उनले बताए।
उनले वीरगन्ज महानगरपालिकालाई खानेपानी समस्याको समाधानका लागि एडीबीको योजनामार्फत ४ अर्ब ५० करोड रुपैयाँ उपलब्ध गराइसकिएको र वीरगन्ज महानगरपालिकाले साउन अन्तिम वा भदौको पहिलो हप्तामा टेन्डर आह्वान गर्ने तयारी गरिसकेको जानकारी दिए। यो परियोजनाले वीरगन्ज महानगर क्षेत्रको खानेपानी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने विश्वास मन्त्री यादवले व्यक्त गरे।
हाल वीरगन्जको शहरी क्षेत्रमा आम जनता खानेपानीको समस्याबाट दैनिक रूपमा प्रभावित छन्। यस समस्यालाई समाधान गर्न स्थानीय नेता र समाजसेवीहरूले पनि आ-आफ्नो पहलमा सर्वसाधारणलाई पानी उपलब्ध गराउँदै आएका छन्।