वीरगन्ज-

देशको आर्थिक राजधानीको रूपमा चिनिने पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकामा खानेपानीको चरम संकटले जनजीवन कष्टकर बनेको छ। चर्को गर्मी र खडेरीका कारण चापाकल, इनार र कुवा सुक्दै जाँदा स्थानीयवासीले पिउने पानीको लागि समेत घण्टौं लाइनमा उभिनुपर्ने बाध्यता छ। तर, यस्तो संकटको बेला मेयर राजेशमान सिंह भने जनताको पीडा सुन्नुभन्दा आफ्नो प्रचारप्रसारमा व्यस्त रहेको भन्दै सर्वसाधारणले आक्रोश व्यक्त गरेका छन्।
चुनावी बेला ‘विकासको ढुकढुकी’ र ‘जनताको सेवा हाम्रो लक्ष्य’ जस्ता नारा लिएर मत मागेका मेयर सिंहमाथि पानी ट्यांकर र ट्यांकीमा आफ्नो नाम, फोटो र लोगोसहितका पोस्टर झुण्ड्याएर प्रचार गरेको आरोप लागेको छ। स्थानीयवासीले भने, “हामीले पानी मागेका थियौं, फोटो होइन। नुहाउन त परै जाओस्, पिउने पानीसमेत किन्नुपर्ने अवस्था छ। तर मेयरजी प्रचारमा मस्त हुनुहुन्छ।”
पानी वितरणको लागि प्रयोग हुने सरकारी स्रोत र साधनलाई व्यक्तिगत प्रचारको साधन बनाएको भन्दै स्थानीयवासीले यो कार्यलाई निन्दनीय भनेका छन्। सामान्य नागरिकदेखि स्थानीय संघसंस्थासम्मले यो समय प्रचार होइन, समाधान खोज्ने बेला भएको बताएका छन्। मधेश प्रदेशभरि नै खानेपानीको अभावले जनजीवन प्रभावित भइरहेको बेला जनप्रतिनिधिहरूको प्रचारमुखी व्यवहारले सरकारप्रतिको विश्वास गुम्दै गएको छ।
स्थानीयवासीले मेयर सिंहलाई चेतावनी दिँदै भनेका छन्, “हामीले ब्यानर र नाराका लागि तपाईंलाई जिताएका होइनौं। पानी जीवन हो, यो संकटमा सहयात्री बन्नुस्। प्रचारप्रसार त पछि पनि गर्न पाइन्छ।”