काठमाडौँ-

राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले विदेश भ्रमणलाई उपलब्धीमुलक बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
जनताको करमा विदेश भ्रमण गर्ने तर उपलब्धि नहुने वा विदेशमा सिकेका संसदीय अभ्यासहरु नेपालमा आएर लागू नगर्ने परिपाटीको अन्त्य गर्न जरुरी रहेको बताउनुभएको हो । बिहीवार सिंहरदरबारमा बसेको नेपाल—बेलायत संसदीयमैत्री समूहको बैठकमा बोलदै उहाँले विदेश जाने कुरा जानका लागि जाने मात्रैमा सिमित हुन नहुने बताउनु भयो ।
विदेश भ्रमणबाट देशलाई के लाभ भयो भन्नेकुरा महत्वपूर्ण हुने पनि बताउनु भयो । नेपाल चेम्बर अफ कमर्सको विधान लण्डन चेम्बर अफ कमर्सको विधान सापटी लिएर बनाइएको पनि बताउनु भयो । उहाँले लण्डन चेम्बर अफ कमर्सको विधानलाई नेपालीमा अनुवाद गरेर नेपाल चेम्बर अफ कमर्सको विधान बनाइएको बताउनु भयो ।
बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले कानून बनाइसकेपछि कार्यान्वयन भए÷नभएको बारेमा अध्ययन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले उत्तर विधायिकी परीक्षण धेरै महत्वपूर्ण रहेको बताउनु भयो ।
व्यवसायी राजेन्द्र खेतानले बेलायती नेपालीहरुको चाहना नेपालको माटोमा लगानी गर्ने रहेको बताउनु भयो । उहाँले लगभग एक लाख नेपाली बेलायतमा भायब्रेण्ट सोसाइटीको रुपमा रहेको र उनीहरु नेपालमा लगानी गर्ने चाहनामा बसेको बताउनु भयो ।
उहाँले बेलायतमा रहेका नेपालीहरु आर्थिक अवस्थामा धेरै सुदृढ रहेकोले नेपालमा लगानी गर्ने चाहनालाई नेपाल सरकारले उचित वातावरण मिलाएर अघि बढाउनुपर्ने बताउनु भयो ।