काठमाडौं-

महानगरपालिकाभित्रका सार्वजनिक स्थलहरुमा धुम्रपान गरे प्रत्येकपटक पाँचसय जरिबाना गर्ने काठमाडौं महानगरपालिकाले बताएको छ ।
हालै सम्पन्न नगरसभाबाट चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास गर्दै सो व्यवस्था गरिएको हो । काठमाडौं महानगरपालिका भित्रको सार्वजनिक स्थलमा अत्याधिक धुम्रपान गर्ने काम भएको र जनगुनासा व्यापक आएपछि जरिबाना गर्नेगरी आर्थिक ऐनमा व्यवस्था गरिएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।
पाण्डेकाअनुसार तोकिएको स्थानमा बाहेकका स्थलमा सवारीसाधन पार्किङ्ग गरे सबै किसिमका तीनपारी सवारी साधन मोटरसाईकल स्कूटरलाई एकहजार जरिबाना गरिनेछ । सबै किसिमका चारपायें सवारी साधन (कार, जीप, डेलिभरी भ्यान) लाई २५०० जरिवाना गरिनेछ । मझौला सवारी साधन मिनीबस, मिनीट्रक लगायतलाई ३ हजार ५ सय जरिबाना गरिँदैछ । सबै किसिमका ठूला सवारी साधन । बस, ट्रकलाई पाँच हजार जरिवाना गरिनेछ । प्रचलित कानूनले निषेध गरेको विज्ञापन गरेमा १० हजार जरिवाना गरिनेछ । विना अनुमति सार्वजनिक स्थलबाट देखिने गरी होडिङ बोर्डमा विज्ञापन गरेमा १० हजारदेखि एकलाखसम्म जरिवाना हुन सक्नेछ ।
पर्चा, पम्प्लेट, पोष्टर, स्टिकर सार्वजनिक स्थानमा टाँस गरेमा तथा सार्वजनिक स्थलमा ब्रोसर तथा प्रचार समाग्री वितरण गरी फोहर गर्ने कार्य गरेमा ५ हजारदेखि ५० हजारसम्म जरिबाना तोकिएको छ । खम्बा, पर्खालमा गरिएको पेन्टिङ वा लेखन कार्य प्रतिस्थान ५ हजारदेखि ५० हजारसम्म जरिवाना तोकिएको छ भने स्विकृत नलिई बेलुन वा यस्तै प्रकारले विज्ञापन गरेमा ५ हजारदेखि ५० हजारसम्म जरिवना तोकिएको छ । सार्वजनिक स्थलमा गेट तथा स्वागतद्वार निर्माण गरेमा महानगरले ५ हजारदेखि ५० हजारसम्म जरिवाना गर्नेछ । सार्वजनिक स्थल वा संरक्षित स्थानमा रहेका रुख, विरुवामा क्षति पु¥याएमा पाँचसयदेखि पचास हजारसम्म जरिवाना गरिनेछ ।