महोत्तरी-
प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ मा निर्माण गरिएको बिग्ही नदीको नयाँ पुल शुक्रबार उद्घाटन गरेका छन्। दिउँसो साढे १२ बजे मटिहानी पुगेका प्रधानमन्त्री ओलीले शिला अनावरण तथा रिबन काटेर पुलको उद्घाटन गरेका हुन्।

मटिहानीलाई जनकपुरसँग जोड्ने सडकमा पर्ने यो पुल निर्माणसँगै सीमावर्ती भारतीय क्षेत्र हुँदै जनकपुर पुग्ने सानो मार्ग बनेको छ। यसअघि रहेको साँघुरो पुल आवतजावतका लागि असहज भएपछि नयाँ पुल निर्माण गरिएको हो।
उद्घाटन समारोहमा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा महोत्तरी–३ का प्रतिनिधिसभा सदस्य महन्थ ठाकुर, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारी, मधेश प्रदेशकी प्रदेश प्रमुख सावित्री भण्डारी, मुख्यमन्त्री सतिशकुमार सिंहलगायतको उपस्थिति रहेको थियो।
कालिका कन्सट्रक्सन प्रालि, भरतपुर चितवनले ७ करोड ५७ लाख ८० हजार २८३ रुपैयाँ लागतमा निर्माण गरेको यो पुल ५० मिटर लामो छ।
उद्घाटनपछि प्रधानमन्त्री ओलीले पुलको निरीक्षण गर्नुका साथै हेलिकप्टरमार्फत तराई–मधेश प्रदेशका सुख्खाग्रस्त क्षेत्रहरूको हवाई अवलोकन पनि गरेका थिए।
प्रधानमन्त्री ओलीले यसै क्रममा मटिहानी नगरपालिका–६ स्थित नवनिर्मित प्रसूतिगृह, जनकपुर–कुर्था–सम्सी सडकखण्डअन्तर्गत रौजास्थित रातुखोला पुल र बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ।