२०८२ श्रावण ११ गते, आईतवार ११:१६
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • मृत्युपछि राहत – मधेस प्रदेश सरकारले दैवी प्रकोप वा दुर्घटनामा मृत्यु भएका प्रदेशवासीका आश्रित परिवारलाई १० लाख रुपैयाँसम्मको बीमा राहत दिने व्यवस्था गरेको छ।
  • घर क्षतिपूर्ति– प्रकोपका कारण घरमा क्षति भए ५० हजारदेखि ५ लाख २० हजार रुपैयाँसम्म क्षतिपूर्ति दिने व्यवस्था मिलाइएको छ।
  • जेष्ठ नागरिक कार्यक्रम– जेष्ठ नागरिकका लागि वृद्धाश्रम भवन निर्माण, भत्ता, स्वास्थ्य उपचारलगायत सेवा विस्तार र अनुभव उपयोग गर्ने योजना चालु आवको बजेटमै समावेश गरिएको छ।

वीरगन्ज-

मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जैशवालले प्रदेशका नागरिकको दैवी प्रकोप वा दुर्घटनामा परी मृत्यु भएमा १० लाख रुपैयाँ क्षतिपूर्ति पाउने व्यवस्था मिलाएको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षको बजेटमै मधेस प्रदेश सरकारले प्रदेशका आम जनताका लागि नागरिक बीमाको व्यवस्था गरेको बताउनुभयो।

वीरगन्जमा शनिबार आयोजित जेष्ठ नागरिक महासंघ मधेस प्रदेशको पहिलो प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री जैशवालले मधेस प्रदेशका बासिन्दा नेपाल तथा भारतको कुनै पनि कुनामा दैवी प्रकोप वा दुर्घटनामा मृत्यु भए उनका आश्रित परिवारलाई राहत स्वरूप १० लाख रुपैयाँ बीमा मार्फत पाउने व्यवस्था गरिएको जानकारी दिनुभयो। उहाँले दैवी प्रकोपमा परी मृत्यु भएका व्यक्तिको अन्य बीमा भएमा, उनको हत्या तथा उनले आत्महत्या गरेको अवस्थामा सरकारले लागू गरेको नागरिक बीमाबाट उनका आश्रित परिवारले कुनै राहत रकम नपाउने प्रावधान गरिएको स्पष्ट पार्नुभयो।

प्रदेश सरकारले दैवी प्रकोपबाट नागरिकको घरमा क्षति भएको खण्डमा प्रदेश सरकारको सिफारिसमा ५० हजारदेखि ५ लाख २० हजार रुपैयाँसम्म क्षतिपूर्ति पाउने व्यवस्था गरेको मन्त्री जैशवालले बताउनुभयो।प्रदेशका नागरिकको घरमा पुगेको क्षतिको मूल्याङ्कन गरी सरकारले सिफारिस गर्ने र बीमा कम्पनीले नागरिकलाई राहत स्वरूप क्षति रकम उपलब्ध गराउने व्यवस्था मिलाइएको मन्त्री जैशवालले जानकारी दिनुभयो। उहाँले प्रदेश सरकारले सर्वसाधारणको उत्थान तथा विकासका लागि विभिन्न क्रान्तिकारी योजनाहरू चालु आवको बजेटमा समावेश गरेको बताउनुभयो।

प्रदेश सरकार जेष्ठ नागरिकलाई थप सेवा सुविधा प्रदान गर्ने योजनामा काम गरिरहेको जानकारी दिँदै प्रदेश सरकारले पहिलो पटक चालु आर्थिक वर्षको बजेटमै जेष्ठ नागरिक महासंघका विभिन्न जिल्ला शाखासँग कार्यक्रमको माग गरी बजेट विनियोजन गरेको बताउनुभयो। उहाँले जेष्ठ नागरिक राष्ट्रको गहना मात्र नभई अनुभवका खानी समेत भएकाले उनका लागि बासको व्यवस्था गर्न प्रदेश सरकारले चालु आवको बजेटमा वृद्धाश्रम भवन निर्माण गर्न २५ लाख रुपैयाँ विनियोजन गरेको बताउँदै आवश्यकताअनुसार उक्त रकमलाई बढाउँदै लैजाने स्पष्ट पार्नुभयो।

जेष्ठ नागरिकसँग रहेको लामो अनुभवलाई समेत प्रदेश सरकारले उपयोग गर्ने सोचमा रहेकाले समाज कल्याण मन्त्रालयले प्रकाशित गर्न लागेको पुस्तकमा जेष्ठ नागरिक महासंघसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

जेष्ठ नागरिक महासंघ मधेस प्रदेशका संयोजक जगदीश शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जैशवालले जेष्ठ नागरिकलाई प्रदान गरिने वृद्ध भत्ता, औषधि उपचारलगायत सुविधालाई बढाउने सोच मन्त्रालयको भएकाले सो विषयमा महासंघसँगै छलफल र परामर्शको आधारमा अगाडि बढ्ने बताउनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जार, नेपाल रेडक्रस पर्साका अध्यक्ष बृकिशोर पटेल, जेष्ठ नागरिक महासंघका केन्द्रीय सदस्य रमेश कुमार दत्त, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल, नेपाल प्रेस युनियन पर्साका अध्यक्ष एवम् महासंघ पर्साका सचिव विजय चौहान, समाजसेवी नेजामुदिन समानी, मध्य नेपाल साप्ताहिक पत्रिकाकी सम्पादक कविता खड्का लगायतले अधिवेशनको सफलताको शुभकामना दिँदै जेष्ठ नागरिकको अनुभवलाई राष्ट्रनिर्माणमा उपयोग गर्न तीनै तहका सरकारलाई आग्रह गरेका थिए।

प्रतिक्रिया

गृहमन्त्रीको निर्देशनः खानेपानी र सिंचाईको समस्या भएका स्थानको पहिचान गरी छिटो बोरिङ गर्ने वातावरण मिलाउनू

काठमान्डौं- गृहमन्त्री रमेश लेखकले खानेपानी र सिंचाईको समस्या भएको स्थानहरुको

गृहमन्त्रीको निर्देशनः खानेपानी र सिंचाईको समस्या भएका स्थानको पहिचान गरी छिटो बोरिङ गर्ने वातावरण मिलाउनू

काठमान्डौं- गृहमन्त्री रमेश लेखकले खानेपानी र सिंचाईको समस्या भएको स्थानहरुको

पोडकास्ट सुन्नुहोस