♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
पर्सा-

नेपालको प्रमुख व्यापारिक नाका र देशकै आर्थिक राजधानी रहेको पर्सा जिल्लामा पुराना उद्योगको लगत कट्टा गराउनेभन्दा नयाँ उद्योग दर्ता गराउनेको संख्या बढ्दै गएको छ। देशको अर्थतन्त्रमा सुधार भई व्यापारको वातावरण निर्माण हुँदै गएपछि जिल्लामा नयाँ उद्योग दर्ता गराउनेको संख्या २२ प्रतिशतले बढेको छ भने लगत कट्टा गराउनेको संख्या १३ प्रतिशतले बढेको छ।
देशको अर्थतन्त्रमा सुधार भई व्यापारको वातावरण निर्माण हुँदै गएपछि पर्सा जिल्लामा नयाँ उद्योग दर्ता गराउने क्रम बढेको हो। पहिले कोरोना महामारी र सोपछि आएको वैश्विक आर्थिक मन्दीले थला परेको राष्ट्रिय अर्थतन्त्रमा क्रमिक सुधार हुँदै देशमा उद्योग व्यापारको वातावरण निर्माण भएपछि पर्सामा नयाँ उद्योग दर्ता गराउनेको संख्या बढ्दै गएको हो।
आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा नयाँ उद्योग दर्ताको संख्या २२ प्रतिशतले वृद्धि भएको छ।
घरेलु तथा साना उद्योग कार्यालय पर्साले उपलब्ध गराएको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षमा उद्योगतर्फ ८९७ वटा र वाणिज्यतर्फ ५१५ वटा गरी १ हजार ४१२ वटा नयाँ उद्योग दर्ता भएकोमा गत आवमा उद्योगतर्फ ९६३ वटा र वाणिज्यतर्फ ७५८ वटा नयाँ उद्योग दर्ता भएका छन्।

समिक्षा अवधिको तुलनामा गत आवमा २१.८८ प्रतिशत बढी अर्थात ३०९ वटा उद्योग बढी दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख पवन पंजियारले जानकारी दिनुभयो। उहाँले आर्थिक मन्दीको प्रभाव घट्दै गएकाले मुलुकमा उद्योग व्यापारको वातावरण बन्दै गएपछि जिल्लामा नयाँ उद्योग दर्ता गराउने क्रम बढ्दै गएको बताउनुभयो।
पर्सामा नयाँ उद्योग दर्ता गराउने क्रम बढेसँगै दर्ता रहेका उद्योगको नविकरण गराउनेको संख्यामा समेत ३७ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षमा २ हजार १९२ वटा उद्योगले नविकरण गराएको तुलनामा गत आवमा नविकरण गराउने संख्या २ हजार ९९० पुगेको प्रमुख पंजियारले बताउनुभयो।
नयाँ उद्योग दर्ता र नविकरण गराउनेको संख्यामा वृद्धि देखिए पनि पुराना उद्योगको लगत कट्टा गराउनेको संख्या समेत उच्च रहेको प्रमुख पंजियारले जानकारी दिनुभयो। उहाँले अघिल्लो आर्थिक वर्षमा लगत कट्टा गराउने उद्योगको संख्या ४१३ रहेको तुलनामा गत आवमा उक्त संख्या ४६५ पुगेको बताउनुभयो।
समिक्षा अवधिको तुलनामा लगत कट्टा गराउनेको संख्या १३ प्रतिशतले बढेको कार्यालयले जनाएको छ। अघिल्लो आर्थिक वर्षमा दर्ता भएका उद्योगले ३ हजार ९४१ जना महिला र पुरुषलाई रोजगारी प्रदान गरेका थिए भने गत आवमा दर्ता भएका उद्योगले २ हजार ८९८ जना महिला र पुरुषलाई रोजगारी प्रदान गरेको कार्यालयका प्रमुख पंजियारले जानकारी दिनुभयो।