२०८२ श्रावण १५ गते, बिहीबार १६:०७
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • जघन्य अपराधमा कमी – पर्सामा पछिल्ला दुई वर्षमा हत्या ३७%, बलात्कार ३१%, करणी उद्योग ४२% र महिला विरुद्धका अपराध १२% ले घटेका छन्।
  • सुरक्षा रणनीतिले प्रभाव – जिल्ला सुरक्षा समितिले तयार पारेको सुरक्षा रणनीति र तीनै सुरक्षा निकायको समन्वयले अपराध नियन्त्रणमा सहयोग पुर्‍याएको हो।
  • सामुदायिक प्रहरीको भूमिका – जनमैत्री प्रहरी अवधारणाअन्तर्गत सञ्चालित सामुदायिक प्रहरी सेवा केन्द्र र चेतनामूलक कार्यक्रमले अपराध घटाउन मद्दत गरेको छ।

वीरगन्ज-

देशको अतिनै संवेदनशील जिल्लाको सूचीमा समावेश रहेको सिमावर्ती जिल्ला पर्सामा पछिल्लो समय जघन्य अपराधको संख्यामा कमी आएको छ। सुरक्षा चुनौतिका आधारमा गृह मन्त्रालयले तयार पारेको दश संवेदनशील जिल्लाको सूचीमा समावेश पर्सा जिल्लाको पछिल्ला दुई वर्षको तथ्यांक हेर्दा हत्या, बलात्कार र महिला विरुद्ध हुने अपराध जस्ता जघन्य अपराधमा कमी आएको देखिन्छ।

जिल्ला प्रहरी कार्यालय पर्साको नेतृत्वमा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रा आएपछि हत्या, बलात्कार जस्ता जघन्य अपराधको संख्यामा ठूलो कमी आएको हो। जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको दुई वर्षीय तथ्यांक अनुसार कर्तव्य ज्यान (हत्या) मुद्दामा ३७ प्रतिशत, जबरजस्ती करणी (बलात्कार) मा ३१ प्रतिशत, जबरजस्ती करणी उद्योग मुद्दामा ४२ प्रतिशत र महिला विरुद्धको अपराध मुद्दामा १२ प्रतिशतले कमी आएको छ।

आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रहरी कार्यालय पर्साले १६ वटा कर्तव्य ज्यान, ३९ वटा जबरजस्ती करणी, ७ वटा करणी उद्योग र १७ वटा महिला विरुद्धको अपराधका मुद्दा दर्ता गरेको थियो। त्यसको तुलनामा चालु आवमा कर्तव्य ज्यान १० वटा, करणी २६ वटा, करणी उद्योग ४ वटा र महिला विरुद्धका अपराधमा १५ वटा मुद्दा दर्ता भएका छन्।

भारतीय अपराधीहरूको चलखेल हुने थलोको रूपमा रहेको पर्सा जिल्लामा पछिल्लो समय प्रहरीको निगरानी र पहुँच बढ्दै गएपछि जघन्य अपराधको संख्यामा कमी आएको एसपी गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्ला सुरक्षा समितिले तयार पारेको सुरक्षा रणनीति र त्यसको सफल कार्यान्वयनमा सुरक्षाका तीनै निकायले महत्वपूर्ण भूमिका निर्वाह गरेपछि आपराधिक घटनामा कमी आएको हो।

जनमैत्री प्रहरी अवधारणाअन्तर्गत गृह मन्त्रालयले दिएको निर्देशन अनुसार सञ्चालन गरिएका सामुदायिक प्रहरी सेवा केन्द्रमार्फत अपराध न्यूनिकरणका क्षेत्रमा गरिएको चेतनामूलक कार्यक्रमका कारण नागरिकमा जनचेतनाको विकास भई अपराध न्यूनीकरणमा सहयोग पुगेको उहाँले बताउनुभयो।

“अपराध गरेपछि कानुनको दायरामा एक नएक दिन आउनै पर्छ भन्ने तथ्यलाई नागरिकमाझ पुर्‍याउन र भएका आपराधिक घटनाका दोषीलाई समयमै पत्ता लगाई कानुनको दायरामा ल्याउन सफल भएकै कारण जिल्लामा अपराधको संख्या घट्दै गएको हो,” एसपी गौतमको भनाइ छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस