२०८२ श्रावण २१ गते, बुधबार ०७:५८
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • कमिसनको आरोप: पर्साको दुग्धेश्वरनाथ महादेव मन्दिर निर्माण योजनामा मधेस प्रदेशका मन्त्री प्रमोद जयसवालमाथि ठेकेदारमार्फत ५ लाख (पछिले ३ लाख) कमिसन मागेको गम्भीर आरोप समितिले सार्वजनिक गर्‍यो।
  • पूर्व आरोपसमेत: यसअघि पनि एमाले नेता बिचारी यादवले मन्त्री जयसवालमाथि योजनामा ३–५% कमिसन लिएको आरोप लगाउँदै राजीनामा माग गरेका थिए।
  • छानबिन र कारबाहीको माग: स्थानीय समिति र नागरिक समाजले आरोपको निष्पक्ष छानबिन र प्रमाणित भए कानुनी कारबाहीको माग गर्दै विकास योजनामा पारदर्शिता र जबाफदेहिताको आवश्यकता जोड दिए।

वीरगन्ज-

मधेस प्रदेशका सामाजिक विकास तथा खेलकुद मन्त्री प्रमोद जयसवालमाथि फेरि पनि कमिसन मागेको गम्भीर आरोप लागेको छ।

यसअघि नै योजनामा ३–५ प्रतिशतसम्म कमिसन लिने आरोप खेपिरहेका मन्त्री जयसवाल यसपटक पर्साको पटेर्वासुगौली गाउँपालिका–२ स्थित धार्मिक महत्व बोकेको दुग्धेश्वरनाथ महादेव मन्दिर निर्माण योजनामा विवादमा तानिएका हुन्।

भाथा मेला व्यवस्थापन समितिका अध्यक्ष गेनालाल पटेलले सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री जयसवालले योजना स्वीकृतिका लागि ठेकेदारमार्फत ५ लाख रुपैयाँ कमिसन मागेको आरोप लगाए। रकम दिन अस्वीकार गरेपछि मन्त्रीले “५ लाख नदिए ३ लाख दिनुस्” भन्दै सम्झौता प्रस्ताव गरेको र अन्ततः समितिका सदस्य वासुदेव दास थारुमार्फत ३ लाख रुपैयाँ बुझाएपछि मात्र निर्माण कार्य सुरु भएको पटेलको दाबी छ।

समितिका २० भन्दा बढी सदस्यहरू यस घटनाका प्रत्यक्ष साक्षी रहेको दाबी गर्दै अध्यक्ष पटेलले धार्मिक स्थलमा हुने विकास कार्यमै अवरोध पुर्‍याउने गरी गरिएको यस्तो प्रस्ताव असहयोगात्मक र अनैतिक भएको टिप्पणी गरे।

यसअघि नेकपा एमाले मधेस प्रदेशका उपाध्यक्ष बिचारी यादवले पनि मन्त्री जयसवालमाथि बजेट वितरणमा कमिसन लिएको सार्वजनिक आरोप लगाउँदै उनको राजीनामा माग गरेका थिए।

स्थानीयवासी र नागरिक समाजका प्रतिनिधिहरूले मन्त्रीमाथिको आरोपको निष्पक्ष छानबिन गरी दोषी प्रमाणित भए कानुनी कारबाहीको माग गरेका छन्।

स्थानीय युवा नेता अजय साहले भने, “हामी सरकारसँग विकासको माग गर्छौं, भ्रष्टाचारको होइन।”

मन्त्री जयसवालले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। घटनाले विकास योजनाको पारदर्शिता, निष्पक्षता र प्रदेश शासन प्रणालीको नैतिक आधारमाथि गम्भीर प्रश्न खडा गरेको सरोकारवालाहरूको भनाइ छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस