काठमाडाैँ –
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरुवा तथा बढुवा प्रणाली पारदर्शी र नीति आधारित बनाउन आवश्यक बताउनुभएको छ ।
बुधवार सिंहदरबारस्थित मन्त्रालयमा प्रेस चौतारी नेपालका प्रतिनिधिहरुसँगको छलफलमा बोल्दै मन्त्री न्यौपानेले यस्तो बताउनुभएको हो । दिनैपिच्छे सरुवा हुने तथा कर्मचारीले सुरुवा बढुवाका लागि सचिव वा सहसचिवलाई भेट्नैपर्ने संस्कृतिको विकास हुँदा प्रशासनिक संयन्त्रमाथि व्यापक प्रश्न उठ्ने गरेको उहाँको भनाइ छ । उहाँले मन्त्री र सचिवलाई भेटेपछि मात्र सरुवा हुने मनोविज्ञानको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो ।
उहाँले सरुवा र बढुवा अनुमानमा आधारित तथा पारदर्शी तरिकाले हुने प्रणालीको विकास गरेर प्रत्येक कर्मचारीले आफ्नो अवस्थाको सहज आँकलन गर्न सक्ने वातावरण बनाउनेमा आफ्नो जोड रहने बताउनु भयो । उहाँले कर्मचारीको सरुवा र बढुवाका लागि कर्मचारीले पैसा खर्च गर्ने संस्कारको अन्त्य गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
मन्त्री न्यौपानेले आफू पादरर्शी रहँदा रहँदै पनि आफ्नो नाम दुरुपयोग हुनसक्नेतर्फ पनि सचेत रहेको बताउनु भयो । उहाँले आफ्नो नामको दुरुपयोग गरेर सरुवाको नाममा घुस मागेको खण्डमा त्यसबारे जानकारी दिन सार्वजनिक रुपमा आग्रह पनि गर्नुभयो ।
उहाँले कर्मचारीको सरुवा बढुवालाई पारदर्शी बनाउँदै प्रशासनिक सेवालाई प्रभावकारी प्रतिवद्धता व्यक्त गर्नुभयो ।