♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
वीरगन्ज-
देशको आर्थिक राजधानी र मुख्य प्रवेशद्वार रहेको पर्सा जिल्लामा एक हजार ५ सयभन्दा बढी यौन व्यवसायी सक्रिय रहेको तथ्य प्रकाशमा आएको छ। पर्सा जिल्लामा सक्रिय रहेका यौनकर्मीमध्ये ७ सय जना वीरगन्जमा रही व्यवसाय गर्दै आएका छन् भने ८ सय जना बाहिरबाट आउने र आफ्नो व्यवसाय गरी फर्किने गरेको तथ्य सार्वजनिक भएको हो।

वीरगन्जमा सञ्चालित तारे होटलदेखि सामान्य होटलसम्म यौन व्यवसाय हुँदै आएको छ भने घर भाडामा तथा शहरका सुनसान गल्लीमा यौनकर्मीहरूले सेवा दिने गरेको खुलासा भएको छ।
एच.आई.भी., एड्स र यौनकर्मीका क्षेत्रमा विगत १७ वर्षदेखि काम गर्दै आएका विद्यार्थी जागरण मञ्चका कार्यक्रम संयोजक निरज साहका अनुसार जिल्लामा डेढ हजारभन्दा बढी यौनकर्मी सक्रिय रहेको जानकारी दिनुभयो। उहाँका अनुसार सन् २०२४ मा एन.सी.ए.सी.ले सार्वजनिक गरेको सर्वे रिपोर्टमा पर्सा जिल्लामा १,५०० को तथ्यांक देखिए पनि विजामले गरेको सर्वे तथा भेटघाटमा ७ सय यौनकर्मी हाल आफूहरूको सम्पर्कमा रहेको बताउनुभयो।
सामान्य होटल, आफ्नै घर तथा सुनसान गल्लीमा पेशा गर्दै आएका यौनकर्मीहरू आफूहरूको सम्पर्कमा भए पनि बाहिरी जिल्लाबाट वीरगन्ज आउने र तारे होटलमा बसी पेशा गरी फर्किनेहरू भने सम्पर्कमा आउन नचाहेको संयोजक साहले गोप्य खबरलाई जानकारी दिनुभयो। उहाँले पर्सा जिल्लामा सक्रिय रहेका २० देखि ४० वर्ष उमेर समूहका ४५ जना यौनकर्मीमा एच.आई.भी.को संक्रमण देखिएको र उनीहरू हाल पनि पेशामा सक्रिय रहेको बताउनुभयो।
सक्रिय रहेका संक्रमित यौनकर्मीहरूलाई पहिले निःशुल्क रूपमा वितरण गरिँदै आएको प्री-एक्सपोजर प्रोफिल्याक्सिस नामक औषधिको वितरण सरकारद्वारा बन्द गरेपछि एच.आई.भी. संक्रमणको जोखिम अझ बढेको संयोजक साहको भनाइ छ। सरकार र दातृ निकायहरूको सहकार्यमा पहिले निःशुल्क वितरण हुँदै आएको यो औषधि संक्रमित पेशाकर्मीले सेवा लिएर यौन सम्पर्क गर्दा संक्रमणको सम्भावना कम हुने भए पनि औषधि वितरण बन्द भएपछि नयाँ संक्रमित थपिने जोखिम बढ्दै गएको उहाँले जानकारी दिनुभयो।
वीरगन्जमा पेशा गर्ने यौनकर्मीमध्ये ५० प्रतिशत बाहिरबाट आएर बसेका छन् भने ५० प्रतिशत आर्थिक रूपमा कमजोर भएका स्थानीय महिला रहेका छन्। श्रीमानको स्वास्थ्य अवस्था राम्रो नभएको, श्रीमान लागुऔषध प्रयोगकर्ता भएको, आर्थिक रूपमा अत्यन्तै विपन्न भएका महिलाहरू यौन व्यवसायमा सक्रिय रहेको संयोजक साहले जानकारी दिनुभयो। यौन पेशा गरेर नै उनीहरूले आफ्नो परिवारको भरणपोषण गर्ने गरेका छन्।
परिवारको भरणपोषणका लागि पेशा गर्ने यौनकर्मीहरूबाट एच.आई.भी. संक्रमणको सम्भावना बढी रहेको र नारायणी अस्पतालमा भएका परीक्षणहरूले यो पुष्टि गरेको संयोजक साहको भनाइ छ। उहाँका अनुसार नारायणी अस्पतालमा हुने एच.आई.भी. परीक्षणमा प्रतिवर्ष सय जना नयाँ संक्रमित फेला पर्ने गरेका छन्।
नारायणी अस्पतालबाट एच.आई.भी. संक्रमितलाई निःशुल्क वितरण गरिने ए.आर.भी. औषधि सेवन गर्नेको संख्या १ हजार ५ सय ५० रहेको छ, जसमध्ये ८ सय जना पर्सावासी रहेका छन् भने बाँकी अन्य जिल्ला वा प्रदेशबाट आएका व्यक्तिहरू आफ्नो पहिचान गोप्य राख्न वीरगन्जमा आएर औषधि लिने गरेको संयोजक साहले जानकारी दिनुभयो।
यौन व्यवसायमा रहेका महिलाहरूलाई पेशाबाट बाहिर निकाल्न तीनै तहका सरकारले खासै पहल नगरेको अवस्था भयावह बन्दै गएको उहाँको भनाइ छ। संयोजक साहले दण्डात्मक होइन, प्रोत्साहन र व्यावसायिक विकल्पको माध्यमबाट यौन व्यवसायीलाई पेशाबाट बाहिर ल्याउन दीर्घकालीन योजना ल्याइएमा यो समस्या समाधान हुन सक्ने विश्वास व्यक्त गर्नुभयो।