२०८२ श्रावण २९ गते, बिहीबार १५:०२
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • अमेरिकाको टेक्सस राज्यको डालासमा ५३ वर्षीय ललित प्रधानले पत्नी रञ्जना श्रेष्ठ र तीन वर्षीय छोरा प्रनिश प्रधानलाई गोली हानी हत्या गरी आत्महत्या गरे।
  • ललित लामो समयदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएका थिए र घटनाअघि फेसबुकमा तनाव र आर्थिक कठिनाइबारे लेखेका थिए।
  • नेपाली समाज टेक्ससले शव नेपाल पठाउने र आफन्तलाई सहयोगका लागि समन्वय गरिरहेको छ।

डालास (अमेरिका)

अमेरिकाको टेक्सस राज्यको डालास सहरमा भएको गोलीकाण्डमा एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ। डालास प्रहरीले घटनालाई ‘हत्यापछि आत्महत्या’को रूपमा प्रारम्भिक अनुसन्धान गरेको छ।

प्रहरीका अनुसार, शनिबार बिहान करिब २:१० बजे डडली स्ट्रिटको १९०० ब्लकमा बसोबास गर्दै आएका ५३ वर्षीय ललित प्रधानले आफ्नी ३७ वर्षीया पत्नी रञ्जना श्रेष्ठ र तीन वर्षीय छोरा प्रनिश प्रधानलाई गोली हानी हत्या गरेका थिए। त्यसपछि उनले सोही पेस्तोल प्रयोग गरी आत्महत्या गरेका थिए।

रञ्जना र प्रनिशको घटनास्थलमै मृत्यु भएको थियो भने ललितलाई अस्पताल पुर्‍याएपछि मृत घोषणा गरिएको प्रहरीले जनाएको छ। ललित लामो समयदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएका थिए। घटनाको एक दिनअघि उनले आफ्नो फेसबुकमा लामो समयदेखि तनावमा रहेको र काममा उपस्थित हुन नसकेको उल्लेख गरेका थिए।

उनको फेसबुक पोस्टमा लेखिएको थियो — “मेरो परिवार र मैले सरकारी सेवाहरू प्राप्त गर्न सकेका छैनौं, जसले हामीलाई कठिन परिश्रम गर्न बाध्य बनाएको छ।”

नेपाली समाज टेक्सस (एनएसटी)का महासचिव विजय भुसालका अनुसार ललित भुटानी शरणार्थी र रञ्जना नेपाली मूलकी थिइन्। “हामी प्रहरीसँग निरन्तर सम्पर्कमा छौं र नेपालमा रहेका आफन्तहरूसँग समन्वय गरिरहेका छौं,” भुसालले भने। “शव नेपाल पठाउने प्रक्रिया र परिवारलाई आवश्यक सहयोगका लागि हामी संस्थागत रूपमा सक्रिय छौं।”

प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी राखेको छ भने एनएसटीले नेपालमा रहेका मृतकका आफन्तहरूसँग सम्पर्कमा रही सहयोगको पहल गरिरहेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस