२०८२ श्रावण २९ गते, बिहीबार १३:३६

काठमाडौँ-

एलन मस्कको एआई कम्पनी एक्सएआई (xAI) ले आफ्नो पछिल्लो संस्करण ‘ग्रोक–४’ सबै प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ। हालैमात्र ओपनएआईले जीपीटी–५ सार्वजनिक गरेपछि मस्कले यो कदम चालेका हुन्।

ग्रोक–४ सार्वजनिक भएको करिब एक महिनापछि यसको पहुँच विस्तार गरिएको हो। सुरुमा यो सुविधा कम्पनीको ‘सुपरग्रोक’ र ‘एक्स प्रिमियम’ जस्ता सशुल्क योजनाका सदस्यहरूका लागि मात्र उपलब्ध थियो।

कम्पनीले आइतबार सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै भनेको छ, “सीमित समयका लागि हामीले यसको प्रयोग सीमालाई उदार बनाएका छौँ, ताकि तपाईंले ग्रोक–४ को पूर्ण क्षमता अन्वेषण गर्न सक्नुहोस्।” यो सुविधा विश्वभर लागू हुनेछ। तर, ‘ग्रोक–४ हेभी’ भने सशुल्क प्रयोगकर्ताका लागि मात्र उपलब्ध रहनेछ।

ग्रोक–४ का मोडहरू

  • अटो मोड: प्रयोगकर्ताले दिएको प्रम्प्टलाई विस्तृत र उच्च तार्किक क्षमतासहितको जवाफ चाहिन्छ वा चाहिँदैन भनेर एआईले आफैं निर्धारण गर्ने। यो मोड छिटो र कम स्रोत खपत गर्ने मानिन्छ।
  • एक्स्पर्ट मोड: सुरुको जवाफ पर्याप्त नलागेमा, प्रयोगकर्ताले म्यानुअल रूपमा उच्च तार्किक क्षमतामा स्विच गर्न सक्ने सुविधा।

गत हप्ता, एक्सएआईले अमेरिकामा रहेका सबै प्रयोगकर्ताका लागि ‘ग्रोक इमाजिन’ नामक एआई भिडियो जेनेरेसन सुविधा पनि निःशुल्क उपलब्ध गराएको थियो। तर, केही दिनमै यो सुविधा विवादमा आयो, जब प्रयोगकर्ताहरूले टेलर स्विफ्ट र सिड्नी स्विनी जस्ता चर्चित कलाकारहरूको आपत्तिजनक भिडियो निर्माण गरेको पाइएको थियो।

यसैबीच, एलन मस्कले हालै ग्रोक च्याटबटमा विज्ञापन देखाउने योजना सार्वजनिक गरेका छन्। महँगो जीपीयू सञ्चालन खर्च जुटाउन राजस्व स्रोत बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए। उनका अनुसार, विज्ञापनहरू ग्रोकको वेबसाइट र मोबाइल एपमा जवाफ र सुझावबीचमा देखाइनेछन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस