वीरगन्ज —
वीरगन्ज कारागारमा ज्यान मुद्दामा सजाय भोगिरहेका वीरगन्ज–२५ का राहुल साह तुराहाको मंगलबार बिहान मृत्यु भएको छ।
कारागारभित्र बिहान व्यायाम गर्दै गर्दा अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई नारायणी अस्पताल पुर्याइएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
तर, मृतकका आफन्तहरूले स्थानीय प्रशासनको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्। उनीहरूका अनुसार बिहान करिब ८ बजे अस्पतालमा भर्ना गरिएको खबर पाएपछि पुगेका आफन्तहरूले साहको मुखबाट सेतो फिँज र रगत निस्किरहेको देखे। अस्पतालका चिकित्सकले आवश्यक उपचार यहाँ सम्भव नभएको र अन्यत्र लैजान सुझाएको दाबी आफन्तले गरेका छन्। तर, स्थानीय प्रहरीले “सीडीओको निर्देशनअनुसार यहीँ उपचार गर्नुपर्छ” भन्दै अन्यत्र लैजान नदिएको आरोप छ।
आफन्तका अनुसार करिब एक घण्टापछि अस्पतालले साहको मृत्यु भएको घोषणा गर्यो। मृतकको शव बुझ्न अस्वीकार गर्दै उनीहरू नाराबाजी गरिरहेका छन्।