काठमाडाैँ-
राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्न युवाहरुलाई सुझाव दिनुभएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यही राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगिन अभिभारा युवाहरुको काँधमा रहेको बताउनु भयो । उहाँले युगिन जिम्मेवारी पूरा गर्न युवाहरु सक्षम रहेको पनि बताउनु भयो । उद्यमशिलता र स्वरोजगारका क्षेत्रमा काम गर्नुपर्ने अहिलेको समयको माग भएको जिकिर गर्नुभयो । विश्वव्यापीकरण र सूचना तथा प्रविधिको तिब्रतर विस्तारको आधुनिक युगमा युवा पुस्ताले चाहेको विकास सुशासन र समृद्धिको सपना पूरा गर्नु नै आजको मुख्य कार्यभार भएको बताउनु भयो ।
उद्यमशिलता आर्थिक विकासको आधार भएको बताउनु भयो । युवाको विदेश पलायन रोकि उनीहरुलाई स्वदेशमै रोजगारीतर्फ आकर्षण गर्ने उद्यमशिलता विस्तार एवं प्रवद्र्धन गर्ने नीति र कार्यक्रमलाई प्राथमिकता दिन आवश्यक रहेको बताउनु भयो । प्रविधिमा आधारित नवप्रवर्तन, खेलकुद, मनोरञ्जन, सूचना प्रविधिसहितका उद्यमशिलताका विभिन्न क्षेत्रमा नेपाली युवाहरुले आफूलाई अब्बल प्रमाणित गरिसकेको पनि बताउनु भयो ।
राष्ट्रपति पौडेलले प्रविधिबाट अभ्यस्त नेपाल युवालाई स्वदेशमै अवर दिन सरकारले सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानीका लागि वातारवण निर्माण र नवप्रवर्तन र उद्यमशिलता विस्तारलाई प्राथमिकता दिएको बताउनु भयो ।