२०८२ श्रावण ३० गते, शुक्रबार १७:५३
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • पर्सामा गत आर्थिक वर्षमा लागुऔषध मुद्दा ६२ प्रतिशतले घटेर ३०२ बाट ११६ मा सीमित, पक्राउ पर्ने मध्ये ७०% नेपाली र ३०% भारतीय।
  • सुईजन्य लागुऔषध बरामद ४९% ले घटेको तर गाँजा ३४% र चरेश ४४५% ले बढेको; गत वर्ष २ लाख ९० हजार ट्रामाडोल ट्याब्लेट बरामद।
  • लागुऔषध ओसारपसारमा महिलाको संलग्नता घट्दै, मुद्दा चलाइएका महिलाको संख्या १४ बाट घटेर ८।

वीरगन्ज –

कुनै बेला लागुऔषधको ट्रान्जिट प्वाइन्टका रूपमा चिनिने पर्सा जिल्लामा पछिल्लो समय लागुऔषध मुद्दा दर्ता हुने संख्यामा ठूलो गिरावट आएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको तीन वर्षको तथ्यांकअनुसार, समीक्षा अवधिको तुलनामा गत आर्थिक वर्षमा मुद्दा दर्ता ६२ प्रतिशतले घटेको हो।

आर्थिक वर्ष २०७९/०८० मा प्रहरीले ४३७ जनालाई पक्राउ गर्दै ३०२ वटा लागुऔषध मुद्दा दर्ता गरेको थियो। तर, गत आर्थिक वर्षमा १५३ जनालाई पक्राउ गर्दै ११६ वटा मात्र मुद्दा दर्ता गरिएको छ।

नेपाल तथा भारतका सुरक्षा निकायले सिमाक्षेत्रमा चेकजाँच कडा बनाएका कारण लागुऔषध ओसारपसारमा कमी आएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए। उनका अनुसार पक्राउ पर्ने मध्ये ७० प्रतिशत नेपाली र ३० प्रतिशत भारतीय नागरिक छन्।

पछिल्ला तीन वर्षको तथ्यांकअनुसार भारतबाट नेपाल भित्रिने सुईजन्य लागुऔषधको आयातमा समेत कमी आएको छ। आर्थिक वर्ष २०७९/०८० मा जिल्लाको विभिन्न स्थानबाट २६,८१० थान नर्फिन, डाइजोलेप, फेनारगन जस्ता सुईजन्य लागुऔषध बरामद भएकोमा गत वर्ष १३,७४२ थान मात्र बरामद भएको छ, जसमा ४९ प्रतिशतको कमी आएको हो। लम्सालका अनुसार, सिमाक्षेत्रमा निगरानी बढेपछि सुईजन्य लागुऔषधको आयात घटेको भए पनि नेपालबाट भारततर्फ लैजान लागिएको गाँजा र चरेशको बरामद भने बढेको छ।

आर्थिक वर्ष २०७९/०८० मा १,१६५ किलो गाँजा र ११४ किलो चरेश बरामद भएकोमा गत वर्ष १,५६१ किलो गाँजा (३४ प्रतिशत वृद्धि) र ६२५ किलो चरेश (४४५ प्रतिशत वृद्धि) बरामद गरिएको छ। पहिले २–५ किलो गाँजासहित पक्राउ पर्ने घटना बढी भए पनि हाल ठूलो परिमाणमा गाँजा र चरेश बरामद हुने क्रम बढेको र यसले मुद्दा दर्ता संख्या तथा व्यक्ति पक्राउ संख्या कम देखाएको लम्सालले बताए।

उनका अनुसार, पहिले ठूलो संख्यामा सुईजन्य लागुऔषधसहित व्यक्ति पक्राउ हुने गरेकोमा हाल मुखबाट सेवन गर्न सकिने ट्रामाडोल जस्ता लागुऔषधसहित सीमित व्यक्ति मात्र पक्राउ हुने क्रम बढेको छ। गत वर्ष मात्र २ लाख ९० हजार ट्याब्लेट ट्रामाडोल बरामद गरिएको छ। अध्ययनहरूले देखाएअनुसार, सुईजन्य लागुऔषधको तुलनामा अहिले मुखबाट सेवन गर्न सकिने लागुऔषधको प्रयोगकर्ताको संख्या बढ्दो छ।

सुईजन्य लागुऔषध प्रयोग गर्न सुनसान स्थान खोज्नु पर्ने र बढी रकम खर्चिनु पर्ने भएकाले प्रयोगकर्ताले सामान्य औषधि जस्तो देखिने, सजिलै उपलब्ध र सस्तो लागुऔषधतर्फ आकर्षित भएको लम्सालले बताए।

पहिले लागुऔषध ओसारपसारमा महिलाको प्रयोग बढी हुने गरेकोमा पछिल्लो समय यसमा कमी आएको उनले जानकारी दिए। समीक्षा अवधिमा १४ जना महिलामाथि मुद्दा चलाइएकोमा गत वर्ष यो संख्या घटेर ८ पुगेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस