२०८२ भाद्र ४ गते, बुधबार १७:४४

वीरगन्ज-

वीरगन्जको बहुवरीमा सञ्चालित वीरगन्ज हेल्थ केयर अस्पतालका चिकित्सकको लापरवाहीका कारण एक जना सुत्केरी महिलाको ज्यान जोखिममा परेको छ। अस्पतालमा कार्यरत चिकित्सक खुशबु चौधरी (कर्ण) र श्वेता चौधरीको लापरवाहीका कारण पर्साको बहुदरामाई नगरपालिका–१ विश्रामपुर निवासी नवलेश कुमार पटेलकी २३ वर्षीया श्रीमती पूजा पटेलको ज्यान संकटमा परेको हो।

अस्पतालका चिकित्सकले गरेको लापरवाहीका कारण श्रीमतीको ज्यान जोखिममा परेको भन्दै पूजाका श्रीमान् नवलेशले कारवाही र क्षतिपूर्ति माग गर्दै गत साउन ३० गते जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता गराएका छन्।

नवलेशले दर्ता गराएको उजुरीमा उल्लेख भएअनुसार, असार २५ गते श्रीमतीलाई प्रसव पीडा भएपछि आमा सुरक्षा कार्यक्रम रहेको हेल्थ केयरमा भर्ना गराउँदा बच्चा र आमा दुवैको अवस्था गम्भीर थियो। त्यसपछि असार २६ गते चिकित्सक श्वेताले अपरेशन गर्दा गरेको लापरवाहीका कारण पूजाको रक्तस्राव नरोकिएपछि पुनः अपरेशन गरिएको र सो क्रममा चिकित्सकले विरामीको मृगौलामा रहेको मूत्रनली नै काटिदिएको आरोप लगाइएको छ।

असार २६ गते डा. श्वेताले अपरेशन गरी बच्चा जन्माएपछि २९ गते श्रीमतीलाई डिस्चार्ज गरी घर फर्काए पनि उनको रक्तस्राव नरोकिएपछि साउन ७ गते पुनः हेल्थ केयर अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यहाँ चिकित्सकलाई सोध्दा पाठेघरमा समस्या भएकाले पुनः अपरेशन गर्नुपर्ने भन्दै साउन ९ गते अपरेशन गरी पूजाको पाठेघर निकालिएको र सोही क्रममा मृगौलासँगै रहेको पिसाब नली काटिएको निवेदनमा उल्लेख छ।

अपरेशनपछि साउन १६ गते अस्पतालले पूजालाई डिस्चार्ज गरेको थियो। त्यसपछि रगत बग्न रोके पनि निरन्तर पिसाब बगिरहेकाले अस्पतालमा सोध्दा काठमाण्डौमा उपचार गर्न पठाइएको र पछि भारत, बिहारको गोरखपुरस्थित लाइफ केयर अस्पतालमा उपचार गराउँदा पूजाको पिसाबको नली काटिएको सिटी स्क्यानबाट खुलेको नवलेशले बताएका छन्।

उनी भन्छन्, “अस्पतालका चिकित्सकको लापरवाहीले श्रीमतीको ज्यान जोखिममा परेको छ। अर्को तर्फ उनको पाठेघर निकालेका कारण अब पुनः आमा बन्ने सम्भावना समेत सकिएको छ।” उनले दोषी अस्पताल तथा चिकित्सकमाथि कारवाही र क्षतिपूर्ति माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन्।

भदौं ३ गते पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उजुरीमाथि सुनुवाइ गर्दै छानबिनका लागि १० दिनको समय माग गरेको नवलेशले जानकारी दिए।

यता, वीरगन्ज हेल्थ केयर अस्पतालका सञ्चालक डा. अबुलहैस अन्सारीले रकम असुलीका लागि अस्पताल र चिकित्सकमाथि उजुरी दर्ता गरिएको दाबी गरे। उनले पूजाका श्रीमान् नवलेशले दिएको उजुरीमा मिलापत्रका लागि विभिन्न नेताहरूले समेत आफूसँग सम्पर्क गरेको बताए।

“अस्पतालको लापरवाही भएको छैन। डंकन अस्पतालले रेफर गरेपछि पूजालाई हेल्थ केयरमा ल्याइएको हो। पहिलो अपरेशनपछि अवस्था सामान्य भएकाले डिस्चार्ज गरिएको थियो। तर विरामीको अवस्थाले गर्दा पुनः अपरेशन गरी पाठेघर निकाल्नुपरेको हो,” अन्सारीले दाबी गरे।

यसै विषयमा नवलेशले भने, “डंकन अस्पतालमा स्वास्थ्य परीक्षण भइरहे पनि प्रसव पीडा भएपछि सीधै हेल्थ केयरमा भर्ना गरियो। अपरेशनका क्रममा अत्यधिक रक्तस्राव भयो, ८ पोका रगत ल्याउन भनियो। पछि गोरखपुरमा सिटी स्क्यान गर्दा मूत्रनली नै काटिएको थाहा भयो। अहिले भारतीय चिकित्सकले तीन महिनापछि तेस्रो अपरेशन गर्ने भनेका छन्।”

नवलेशका अनुसार, भारतीय चिकित्सकले पूजाको स्वास्थ्य परीक्षण प्रत्येक २० दिनमा गराउन सल्लाह दिएका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस