२०८२ भाद्र ४ गते, बुधबार १७:४६

नागरिक रक्षाका प्रवक्ता महमूद बसालले बताएअनुसार विस्थापितहरूका लागि पालहरू र अमेरिकी समर्थित सहायता वितरण केन्द्रहरू नजिकै प्यालेस्टिनीहरूको भेलालाई लक्षित इजरायली गोलाबारी र गोलीबारीबाट ३० जनाको मृत्यु भएको छ । इजरायली सेनाले दक्षिणी गाजाको रफाहको उत्तरमा सहायता केन्द्रहरू नजिक गोलीबारी गर्दा दुई जनाको मृत्यु भएको छ भने खान युनिसको मावासी क्षेत्रमा अर्को एक जनाको मृत्यु भएको छ ।

मध्य देइर अल–बलाहमा अबु सफार मल नजिकै भएको हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने नेत्जारिम जंक्शन नजिकै भएको अर्को आक्रमणमा एक जनाको मृत्यु भएको छ । धेरै घाइते भएका छन् । बसालका अनुसार खान युनिसमा रहेको विस्थापन पालमा भएको आक्रमणमा दुई बालबालिकासहित चार जनाको मृत्यु भएको छ ।

गाजा शहर र खान युनिसको पश्चिममा थप आक्रमणमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने देइर अल–बलाहको दक्षिणपूर्वमा किसुफिम क्षेत्र नजिकै इजरायली गोलीबारीबाट पाँच जनाको मृत्यु भएको छ । देइर अल–बलाहको अल–बसाह क्षेत्रमाविस्थापन पालमा भएको आक्रमणमा एकदेखि १३ वर्ष उमेरका तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको बताउनु भयो ।

यसैबीच मध्य गाजाको सलाह अल–दिन स्ट्रिटमा रहेको सहायता वितरण बिन्दु नजिकै नागरिक भेलामा भएको आक्रमणपछि अल–अवदा अस्पतालले दुई जनाको शव र सात जना घाइते भएको रिपोर्ट गरेको छ । यी घटनाहरूमा इजरायली सेनाबाट तत्काल कुनै टिप्पणी आएको छैन । मार्च १८ मा, इजरायलले एन्क्लेभमा आफ्नो सैन्य कारबाही पुनः शुरु गरेको हो ।

इजरायलले आफ्नो हमलाहरू तिब्र बनाएसँगै १० हजार ४ सय ६० प्यालेस्टिनीहरू मारिएका छन् । ४४ हजार १ सय ८९ जना घाइते भएका छन् । जसले गर्दा अक्टोबर २०२३ देखि कुल मृत्यु हुनेको संख्या ६२ हजार ४ पुगेको छ । १ लाख ५६ हजार २ सय ३० जना घाइते भएका छन् ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस