२०८२ भाद्र ४ गते, बुधबार १७:४०

वीरगन्ज –

आर्थिक मन्दीको प्रभाव कम हुँदै गएको विभिन्न माध्यमको उपयोग गरी नेपाली नागरिकलाई जानकारी दिइए पनि सरकारले आफ्नै नीतिमा सुधारलाई आत्मसात नगरेको पाइएको छ।

देशमा उद्योग व्यापारको वातावरण बन्दै गएको र आर्थिक मन्दीमा सुधार भए राजस्व संकलन राम्रो भएको दाबी गर्ने सरकारले देशकै प्रमुख व्यापारिक नाका वीरगन्जबाट संकलन हुने राजस्वको वार्षिक लक्ष्यलाई घटाएको छ।

राष्ट्रिय राजस्वमा सबैभन्दा बढी योगदान दिने वीरगन्ज भन्सार कार्यालयको वार्षिक लक्ष्य गत आर्थिक वर्षको तुलनामा चालु आवमा ५ अर्ब ६१ करोड कम विभागले कायम गरेको छ।

आर्थिक वर्ष २०८१/०८२ का लागि भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई २ खर्ब ७९ अर्ब ५२ लाख रुपैयाँ राजस्व संकलन गर्न लक्ष्य दिएको तुलनामा चालु आवका लागि विभागले २ खर्ब ७३ अर्ब ३९ करोड ४७ लाख रुपैयाँको लक्ष्य दिएको छ। यो समीक्षा अवधिको तुलनामा ५ अर्ब ६१ करोड १० लाख रुपैयाँ कम हो।

यसै विषयमा वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी लेखनाथ पोखरेलसँग बुझ्दा उहाँले सूचना अधिकारीको कार्यभार आजै सम्भालेकाले विषयवस्तुबारे अनभिज्ञता प्रकट गर्नुभयो।

सरकारले आर्थिक सुधारको दाबी गरे पनि उद्योग सञ्चालन गर्ने वातावरण नभएको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले जानकारी दिनुभयो। उहाँले सरकारले चालु आवका लागि निर्धारण गरेको राजस्व संकलनको लक्ष्य हासिल हुनै नसक्ने दाबी गर्नुभयो। पछिल्ला ५-६ वर्षदेखि वीरगन्ज नाकाको राजस्व संकलन घट्दै गएको छ र चालु आवमा संकलन अझै घट्ने अनुमान गरी सरकारले वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलनको वार्षिक लक्ष्यलाई घटाएको अध्यक्ष गौतमले दाबी गर्नुभयो।

उहाँले उद्योग सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिने विद्युत नै सरकारले उद्योगलाई नियमित नदिएकाले उद्योग सञ्चालनमा ठूलो समस्या भइरहेको बताउनुभयो।

सरकारको कानुन व्यापारमैत्री नहुनु, गुणस्तरीय विद्युत उद्योगले नपाउनु, बढ्दै गएको चरम भ्रष्टाचार र स्थानीय तहको नीति व्यापारमैत्री नभएको कारण मुलुकमा उद्योग व्यापारको अवस्था खस्किँदै गएको अध्यक्ष गौतमको भनाइ रहेको छ।

उद्योगी व्यापारीलाई हेर्ने सरकारको दृष्टिमा परिवर्तन नआएसम्म मुलुकमा जे गरे पनि उद्योग व्यापारको वातावरण बन्न नसक्ने उहाँको भनाइ रहेको छ।

वीरगन्ज भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवको तुलनामा वार्षिक राजस्व संकलनको लक्ष्य घटेको भए पनि गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयले १६ प्रतिशत बढी राजस्व संकलन गरेको छ।

गत आर्थिक वर्षको साउन महिनामा कार्यालयले १५ अर्ब ९१ करोड ५४ लाख रुपैयाँ राजस्व संकलन गरेको तुलनामा चालु आवमा कार्यालयले १८ अर्ब ४३ करोड ६१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। यो समीक्षा अवधिको तुलनामा २ अर्ब ५२ करोड ६ लाख रुपैयाँ बढी हो।

गत आर्थिक वर्षको साउन महिनाको तुलनामा वीरगन्ज भन्सारले बढी राजस्व संकलन गरे पनि चालु आवका लागि भन्सार विभागले दिएको राजस्व संकलनको लक्ष्य भने हासिल गर्न चुकेको छ।

चालु आर्थिक वर्षको पहिलो महिनाका लागि भन्सार विभागले २० अर्ब ९८ करोड २१ लाख रुपैयाँ राजस्व संकलन गर्न लक्ष्य दिए पनि कार्यालयले लक्ष्यको ८८ प्रतिशत मात्र राजस्व संकलन गर्न सफल भएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस