काठमाडौं-
गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा महिलाको संख्यालाई २० प्रतिशत पु¥याउन निर्देशन दिनुभएको छ ।
नेपाल प्रहरीले बिहीवार आयोजना गरेको पहिलो महिला प्रहरी सम्मेलनमा गृहमन्त्री लेखकले प्रहरी महानिर्देशक दिपक थापालाइ उक्त निर्देशन दिनुभएको हो । गृहमन्त्री लेखकले नेपाल प्रहरीको भर्ना प्रक्रियामा २० प्रतिशत आरक्षण रहेपनि हाल १२ प्रतिशत मात्रै महिलाको उपस्थिति रहेको बताउनु भयो । उहाँले आरक्षणमा राखिएको २० प्रतिशतलाई परिणाममा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले त्यसको लागी सरकार र मन्त्रालयले गर्नुपर्ने सबै सहयोग गर्ने बताउनु भयो । नेपाल प्रहरीमा महिलाहरुको सहभागिता ३३ प्रतिशत पु¥याउन दीर्घकालिन रुपले काम गर्ने पनि जानकारी दिनुभयो । उहाँले २०६२÷०६३ सालमा देशमा आएको परिवर्तपछि नेपाल प्रहरीमा महिलाको संख्या १२ प्रतिशत पुगेको दाबी गर्नुभयो ।
संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने हाम्रो अठोट र २०७२ सालको संविधानले मुलुकमा ठूलो परिवर्तन ल्याएको उहाँको भनाई छ । तर यत्तिमा मात्रै चित्त बुझाएर बस्ने ठाउँ भने नरहेको उहाँले बताउनु भयो ।
उहाँले गृह मन्त्रालयले नीतिगत र कानूनी सुधारलाई अगाडी बढाएको पनि जानकारी दिनुभयो । प्रहरी ऐनको मस्यौदा तयार पारेर संसदमा दर्ता गरिएको जानकारी दिनुहुँदै उहाँले चालु आर्थिक वर्षभित्रै प्रहरी सम्बन्धि ऐन संसदबाट पारित हुने बताउनु भयो । हाल प्रहरी नियमावलीको भरमा चलेकोले अस्थिर हुनुपरेको पनि उहाँको भनाई छ ।
उहाँले सर्वोच्व अदालतले १० वर्ष अगाडी प्रहरी ऐन ल्याउने आदेश दिएको भएपनि हालसम्म ल्याउन नसकिएको बताउनु भयो । नेपाल प्रहरी र शसस्त्र प्रहरी बल नेपाल दुवै संगठनसम्बन्धी कानूनलाई चाँडो भन्दा चाँडो पारित गर्ने उहाँले जानकारी दिनुभयो ।