वीरगन्ज-
पर्सा जिल्लाको विभिन्न पालिकामा देखा परेको झाडा पखाला र वान्ता (भोमेटिङ) का बिरामी बारामा समेत देखापर्न थालेका छन् । पर्साको वीरगन्ज महानगरपालिका र पोखरिया नगरपालिकामा भेटिएका झाडा पखालाका बिरामी अब बारा जिल्लाको कलैया लगायतका स्थानमा समेत देखापर्न थालेका हुन् ।
एक साताअघि पर्सामा देखिन थालेका झाडा पखालाका बिरामी शनिबारदेखि बाराको कलैया उपमहानगरपालिका लगायतका विभिन्न पालिकामा देखिन थालेका छन् ।
झाडा पखाला र वान्ताबाट सिकिस्त भएका बारा जिल्लाका तीन जना बिरामीलाई उपचारका लागि वीरगन्जको नारायणी अस्पतालमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार वीरगन्ज महानगरपालिकाको वडा नं. १२, १३ र १६ मा देखिएका बिरामी हाल वडा नं. १८ मा समेत देखापर्न थालेका छन् ।
स्वास्थ्य अवस्था अत्यन्त गम्भीर भएका एक जना वृद्ध शनिबार दिउँसो उपचारका लागि नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएको डा. सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबारदेखि शनिबार दिउँसोसम्म ६५ जना भन्दा बढी झाडा पखालाका बिरामी नारायणी अस्पतालमा भर्ना भएका छन् ।
बढ्दो बिरामीको संख्याले गर्दा शैयाको अभाव भएपछि अस्पतालले भुइँमै गद्दा ओछ्याएर उपचार गर्नुपरेको डा. सिंहले बताए । नारायणी अस्पतालमा भर्ना भएका बिरामीमध्ये ८ जनाको मल परीक्षण गर्दा ६ जनामा हैजा (कोलेरा) को जीवाणु पुष्टि भएको उनले जानकारी दिए ।
वीरगन्जको १२ र १६ नम्बर वडाबाट सुरु भएको झाडा पखाला अब महामारीको रूप लिँदै गएको डा. सिंहले बताए । यसै रोगका कारण पर्सामा अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको छ भने वीरगन्जका प्रायः सबै अस्पताल भरिएका छन् । सरकारी तथा निजी अस्पतालमा शैयाको अभाव छ भने आइसियुमा समेत झाडा पखालाका गम्भीर बिरामी भरिएका छन् ।