वीरगन्ज-
केही महिना अगाडि वीरगन्जमा देखापरेको खानेपानीको अभावलाई सम्बोधन गर्न नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले आ–आफ्नै स्तरमा प्रयास गरे र केही हदसम्म समस्या समाधान पनि भएको थियो। तर खानेपानीको व्यवस्थापन गर्ने क्रममा विधि र प्रक्रियालाई बेवास्ता गरी आफ्ना कार्यकर्ताको भरणपोषणमा बढी चासो देखाइएको कारण अहिले वीरगन्जमा झाडापखाला साथै हैजाको प्रकोप फैलिएको छ।
असुद्ध पानीको सेवनका कारण हैजाका बिरामी वीरगन्जमा भेटिन थालेपछि “फलानोको कारण हैजा फैलियो” भन्दै नेताका समर्थकहरू एक–अर्कामाथि दोषारोपण गर्दै हिँडिरहेका छन्।
खानेपानीको समस्यालाई सम्बोधन गर्न संघ सरकारले डिपबोरिङ गराएको भन्दै केहीले आफ्नो नेताको महिमामण्डन गरेका थिए भने कतिले प्रदेश सरकार, कतिले स्थानीय तहका नेताको पहलमा पानीको समस्या समाधान भएको भन्दै श्रेय लिँदै सामाजिक सञ्जालमा सक्रिय भएका थिए।
तर वीरगन्जमा झाडापखालाको प्रकोप देखिएपछि पहिले श्रेय लिनेहरू अहिले आरोप–प्रत्यारोपमा उत्रिएका छन्। हैजा फैलिएको पुष्टि भएपछि “फलानोको कारणले रोग फैलियो” भन्दै समर्थकहरू चौक–चौराहादेखि सामाजिक सञ्जालसम्म दोषारोपणमा जुटेका छन्।
कोही खानेपानी संस्थानको पानीबाट रोग सरेको दाबी गर्छन् भने कोही संघ सरकारले गराएको डिपबोरिङको पाइप नालामा डुबेको कारण रोग सरेको भन्दै आलोचना गरिरहेका छन्। कोही स्थानीय तहको गैरजिम्मेवारीले वीरगन्जवासीको ज्यान जोखिममा परेको र केहीको ज्यान समेत गएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरिरहेका छन्।
चिकित्सकहरूको भनाइ अनुसार असुद्ध खानेपानी र अस्वस्थकर खानपानका कारण हैजाजस्ता प्राणघातक रोग फैलिने गर्छ। वीरगन्जमा नालामा डुबेको खानेपानीको पाइपले रोग फैलिएको हुन सक्ने आशंका गरिएको छ।
यसैबीच वीरगन्ज महानगरपालिकाले विभिन्न वडामा जडान गरिएका डिपबोरिङका पाइपलाई नालाबाट बाहिर निकाल्न १५ जनाको टोली परिचालन गरेको छ। सो टोलीले श्रीपुरमा नालाभित्रको पाइपमा लिकेज फेला पारेपछि आरोप–प्रत्यारोप झन् चुलिएको छ।
कर्मचारीले लिक भएको पाइप खानेपानी संस्थानको भएको दाबी गरे पनि स्थानीयले तत्कालै खण्डन गर्दै उक्त पाइप डिपबोरिङमार्फत वितरण गरिने पानीको भएको बताएका छन्। श्रीपुरको मुसलमान टोलमा महानगरपालिकाले नै डिपबोरिङ जडान गरेर पानी वितरणका लागि पाइप नालाभित्रै लगेको स्थानीयको भनाइ छ।
खानेपानी संस्थानले भने नेपाल सरकारले तोकेको मापदण्ड पूरा गर्दै पानी परीक्षण गरेर मात्रै वितरण गर्ने दाबी गरेको छ। यद्यपि वीरगन्जका विभिन्न स्थानबाट संकलित नमुनाको परीक्षण प्रतिवेदन आइनसकेको अवस्थामा पनि नेताका समर्थकबीच आरोप–प्रत्यारोपले वातावरण तातेको छ।
फेसबुकलगायत सामाजिक सञ्जालमा नेताका समर्थकहरूले खुलेर आफ्ना नेताको बचाउ गर्दै अरुलाई दोषारोपण गरेको देखिन्छ। कोही संघीय मन्त्रीको पक्षधर छन् भने कोही प्रदेश सरकार वा स्थानीय तहका नेताको पक्षमा पोस्ट लेख्दै हैजाको दोष अरूलाई थोपर्ने प्रयासमा छन्।
तर वीरगन्ज र आसपासका क्षेत्रमा फैलिएको झाडापखालालाई नियन्त्रण गर्ने बेला नेताका समर्थकबीच देखिएको आरोप–प्रत्यारोपले प्रकोप नियन्त्रणमा बाधा पुग्ने संकेत देखिएको छ।
२ लाख ५० हजारदेखि ३ लाख रुपैयाँमै जडान गर्न सकिने डिपबोरिङका लागि ५ देखि ८ लाख रुपैयाँ खर्च देखाइने र सो रकम कार्यकर्ताको पालना–पोषणमा प्रयोग गरिने गरेको स्थानीयको आरोप छ। डिपबोरिङ जडानमा भएको भ्रष्टाचारबारे प्रश्न उठाउने सर्वसाधारणलाई समर्थकहरूले “काम गरेको देखिन्नस्, दोष लगाउँछस्” भन्दै अपमानित गर्ने गरेको उदाहरणहरू सामाजिक सञ्जालमा प्रशस्तै भेटिन्छन्।
सर्वसाधारणको भनाइमा, खानेपानी संकटलाई योजनाबद्ध रूपमा मापदण्ड पालना गर्दै समाधान गरिएको भए अहिले देखिएको हैजाको संकट नदेखिन सक्थ्यो।
भ्रष्टाचारलाई बेवास्ता गर्दा त्यसको खामियाजा नागरिकले नै भोग्नुपर्छ भन्ने कुरा वीरगन्जमा फैलिएको हैजाले प्रस्ट पारेको छ। अहिले पानीको परीक्षण प्रतिवेदन आउन बाँकी भए पनि, प्रतिवेदन आएपछि नेताका समर्थकहरूले पुनः आरोप–प्रत्यारोप र आफ्ना नेताको महिमामण्डनलाई अझै चर्काउने संकेत देखिन्छ।