२०८२ भाद्र ११ गते, बुधबार २०:०९

काठमाडौँ-

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेपालको राज्य प्रणाली असफल भयो भनेर गरिने टिप्पणीहरु बेतुकको भएको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समिक्षाः उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेपालको संघीय राज्य प्रणाली सफल्तापूर्वक अघि बढिरहेको उल्लेख गर्दै उहाँले अझै प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । संविधान घोषणापछि भएका दुई पटकका निर्वाचनलाई निर्वाचन आयोगले सफलतापूर्वक सम्पन्न गरेको स्मरण उहाँले राज्य संयन्त्र निरन्तर गतिशील रहेको बताउनु भयो ।

उहाँले कर्मचारीतन्त्र, सुरक्षा निकाय, अदालत र राज्यका अन्य संयन्त्र प्रभावकारी रूपमा काम गरिरहेको भएपनि केही सुधारको आवश्यकता रहेको पनि बताउनु भयो । सचिव भट्टराईले संविधान कार्यान्वयनको प्रक्रिया ठिकै दिशामा रहेको भएपनि केही प्रावधानहरू हतारमा लेखिएका वा पर्याप्त छलफलबिनै संविधानमा समावेश टिप्पणी गर्नुभयो ।

उहाँले नेपालको संघीयताको मोडल उपयुक्त भएपनि सहभागिमूलक बनाउन नसकिएको टिप्पणी गर्नुभयो । उहाँले समानुपातिक प्रणालीको माध्यमबाट राज्य संयन्त्रबाट बञ्चित समुदायलाई जोड्न खोजिएको भएपनि त्यस्तो हुन नसकेको बताउनु भयो ।

उहाँले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचका अधिकार सीमामा हस्तक्षेप देखिएको टिप्पणी पनि गर्नुभयो । उहाँले न्यायपालिकाले सक्रियताभन्दा बढी क्रियाकलाप देखाउँदा अन्य संयन्त्रलाई प्रभावकारी रूपमा काम गर्न कठिन हुने पनि तर्क गर्नुभयो ।

उहाँले संविधान संशोधनको माध्यमबाट मुलुकमा देखिएका समग्र समस्याको हल निकाल्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस