काठमाडौँ-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले संविधान संशोधनको बहस ठिक दिशामा अगाडि नबढेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समिक्षाः उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । वर्तमान संविधान तुलनात्मक रुपमा प्रगतिशील भएपनि शक्ति संरचनामा निरन्तर प्रभुत्व कायम राख्न खोज्ने स्वार्थ समूहलाई मन पर्न नसकेको उहाँको टिप्पणी छ ।
उहाँले संविधानलाई अगाडि बढाउनेभन्दा पनि संशोधनको बहानामा पछाडि फर्काउने बहस छेडिएको उल्लेख गर्दै यसप्रति सचेत हुन आवश्यक रहेको पनि बताउनु भयो । उहाँले राजनीतिक दलहरुले संविधानको कार्यान्वयन नगरेको पनि आरोप लगाउनु भयो । उहाँले संविधानको व्यवस्थाअनुसार राजनीतिक दल र नेतृत्वले व्यवहार नगर्दा दलको व्यवहारअनुसारको संविधान बनाउने षड्यन्त्र भइरहेको टिप्पणी गर्नुभयो ।
संविधानले गरेको समानुपातिक व्यवस्था दलहरुले कार्यान्वयन नगरेको उहाँको आरोप छ ।