वीरगन्ज-
गृहमन्त्री रमेश लेखकले नेपाली भूमिलाई कुनैपनि मित्र राष्ट्रहरूको हित विपरीत कसैलाई प्रयोग गर्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। मित्र राष्ट्र भारत तथा चीनको हितविपरीत नेपाल भूमिलाई दुरुपयोग हुनबाट रोक्न नेपाल सरकार सजग रहेको उहाँले बताउनुभयो।
वीरगन्ज नाकालाई प्रयोग गर्दै केही पाकिस्तानी तथा बंगलादेशी नागरिक भारत प्रवेश गरेको समाचारमा कुनै सत्यता नभएको जानकारी दिँदै गृहमन्त्री लेखकले भारतीय सञ्चारमाध्यमले फैलाएको भ्रम र अफवाह मात्र भएको स्पष्ट पार्नुभयो। भारतमा प्रवेश गरेका भनिएका व्यक्ति नेपालबाट मलेसिया गएको पर्याप्त प्रमाण नेपाल सरकारसँग भए पनि नागरिकलाई भ्रमित पार्न भारतीय सञ्चारमाध्यम र केही नेपाली सञ्चारमाध्यमले गलत खबर प्रक्षेपण गरेको उहाँले बताउनुभयो।
नेपाल प्रेस युनियन पर्साले सोमबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले भारतीय सञ्चारमाध्यममा आएको नेपाली सीमा सम्बन्धी समाचार पूर्णरूपमा भ्रामक र तथ्यहीन भएको दाबी गर्नुभयो। उहाँले लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको र यसको पर्याप्त प्रमाण नेपाल सरकारसँग सुरक्षित रहेको बताउनुभयो।
नेपालको सहमति बिना नेपाली भूमिलाई प्रयोग गरी भारत र चीनले व्यापार सम्झौता गरेकोप्रति नेपाल सरकारको आपत्ति रहेको जानकारी दिँदै मन्त्री लेखकले चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङलाई नेपाली भूमिलाई प्रयोग गरी व्यापार गर्ने विषयमा आपत्ति जनाएको बताउनुभयो।
लिपुलेक–लिम्पियाधुरा नेपालको भूमि हो भन्दैमा मित्र राष्ट्रहरूसँग नेपालको सम्बन्ध बिग्रिने कुनै सम्भावना नरहेको उहाँले स्पष्ट पार्नुभयो। पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले नेपाल कुनैपनि देशसँग सैन्यगत एकता वा सैन्य समितिमा सहभागी नहुने प्रष्ट पार्नुभयो।
यसैबीच, वीरगन्ज महानगरपालिकाले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गहरूमा ऐन विपरीत संकलन गर्दै आएको पटके सवारी करबारे छानबिन गरी कार्यवाही गर्ने प्रतिबद्धता पनि मन्त्री लेखकले व्यक्त गर्नुभयो। उहाँले राष्ट्रिय राजमार्गमा पटके सवारी कर वा अन्य कुनै कर संकलन गर्ने अधिकार स्थानीय तहलाई नभएको स्पष्ट पार्दै, किन र कसरी संकलन भइरहेको भन्ने विषयमा जाँचबुझ गरी कार्यवाही हुने जानकारी दिनुभयो।
वीरगन्जमा देखापरेको हैजा संक्रमणको स्रोत पत्ता लगाउन विशेषज्ञ टोली नै परिचालन गर्ने र हैजामा परेका बिरामीको उपचारमा नेपाल सरकार गम्भीर रहेको जानकारी पनि उहाँले दिनुभयो।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अनिल रुङ्टा, संविधानसभा सदस्य ओमप्रकाश शर्मा, नेपाली काँग्रेस पर्साका सभापति तथा मधेस प्रदेशका भूमि व्यवस्था तथा सिँचाइ मन्त्री जनार्दन सिंह क्षेत्री, नेपाली काँग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, वीरगन्ज महानगरपालिकाका उपप्रमुख तथा कांग्रेस पर्साका सचिव इम्तीयाज आलम, नेपाली काँग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेसहितको उपस्थिती थियो।