वीरगन्ज-
प्राचीन रोमन इतिहासकार डियो क्यासियसले हिस्ट्री अफ रोमन नामक पुस्तकमा लेखेका छन् कि, रोम जलिरहेको बेला सम्राट नीरो ‘लायर’ नामक वाद्ययन्त्र बजाउँदै कविता वाचन गरिरहेका थिए । अर्थात्, उनलाई देशका नागरिकको दुःख–पीडासँग कुनै मतलब थिएन । ई. स. ६४ मा रोम शहरमा ठूलो आगलागी भएको बेला तत्कालीन सम्राट नीरो क्लाउडियस सिजर अगस्टस जर्मानिकस (जसलाई सम्राट नीरो भनिन्थ्यो) ले जनताको पीडाको परवाह नगरी आफ्नो आत्मसुख प्राप्तिमै केन्द्रित रहेको इतिहासकारहरूले लेखेका छन् ।
अहिले यस्तै अवस्था वीरगन्ज महानगरपालिकाभित्र विद्यमान भएको आम वीरगन्जवासीले महसुस गरेका छन् । वीरगन्ज महानगरपालिकाका विभिन्न वडामा अहिले झाडापखालासँगै हैजाजस्तो प्राणघातक रोगको महामारी फैलिइरहेको बेला वीरगन्जका नगरप्रमुख राजेशमान सिंह जापान भ्रमणमा निस्किएका छन् ।
वीरगन्जमा फैलिएको हैजा र सोबाट प्रभावित नगरवासीको पीडामा उनीसँगै खडा हुने बेला नगरप्रमुख सिंह जापानको व्यक्तिगत भ्रमणमा निस्किएको सन्दर्भ वीरगन्जवासीले रोम शहर जलेको घटनासँगै जोडिरहेका छन् ।
वीरगन्जको चौक–चौराहामा अहिले कुरा गर्दै नगरवासीहरूले जनताको सेवा गर्ने वाचा गर्दै भोट मागेका राजेशमान सिंह नगरप्रमुखमा निर्वाचित भएपछि महामारीको बेला नगरवासीको दुःखमा उभिनुको सट्टा आत्मरतिको लागि विदेश भ्रमणमा जानु जायज नभएको टिप्पणी गर्ने गरेका छन् ।
वीरगन्ज महानगरपालिका सूचना अधिकारी सुनिल कर्णले गोप्यखबरसँग कुरा गर्दै बुधबार नगरप्रमुख व्यक्तिगत भ्रमणमा जापान गएको जानकारी दिनुभयो । उहाँले जापान भ्रमणमा जानुभएका नगरप्रमुख सिंह कहिले नेपाल फर्किने हो भन्नेबारे आफूहरुलाई कुनै जानकारी नभएको बताउनुभयो ।
वीरगन्ज महानगरपालिकाले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार आज मात्रै २५ जनामा हैजा रोगका जीवाणु फेला परेको छ । वीरगन्जका विभिन्न अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा ९ जना बिरामी भर्ना भई आफ्नो जीवनका लागि संघर्ष गरिरहेका छन् ।
वीरगन्जमा महामारी देखा परेदेखि हालसम्म ९८४ जनामा हैजा रोग पुष्टि भएको छ भने बिहीबार बिहान १० बजेसम्म ८० जना बिरामी विभिन्न अस्पतालमा भर्ना रहेको महानगरपालिकाको स्वास्थ्य शाखाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
वीरगन्जका विभिन्न अस्पतालमा उपचारका क्रममा अहिलेसम्म चारजनाको मृत्यु झाडापखालाकै कारण भइसकेको छ ।
नौं जना वीरगन्जवासी जीवन–मरणको दोसाँधमा रहेका बेला नगरप्रमुखजस्ता जिम्मेवार पदमा रहेका व्यक्ति आत्मरतिको लागि विदेश भ्रमणमा जानुलाई वीरगन्जवासीले आलोचनात्मक दृष्टिले हेरेका छन् ।