२०८२ भाद्र ३१ गते, मंगलवार १३:४४

दोषीलाई कारबाहीको दायरामा ल्याउने नगरपरिषदको निर्णय

वीरगन्ज महानगरलाई १ अर्ब १५ करोडभन्दा बढी क्षति

वीरगन्ज-

वीरगन्ज महानगरपालिकाले कार्यालयमा तोडफोड तथा आगजनीजस्ता घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

मंगलबार बसेको नगरपरिषदको बैठकले कार्यालयमा भएको तोडफोड, लुटपाट र आगजनीजस्ता गतिविधि वास्तविक जेन–जेड आन्दोलनकारीहरूले नभई बाह्य घुसपैठमार्फत गराइएको ठहर गर्दै दोषी पहिचान गरी मुद्दा प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

नगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको बैठकले कार्यालयमा भएको क्षतिको मूल्यांकन गर्ने र सक्दो चाँडो सेवाहरू पुनः सुचारु गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जानकारी दिनुभयो। उहाँका अनुसार आन्दोलनका क्रममा महानगरपालिकाको मुख्य भवनसहित विभिन्न संरचना जलेर नष्ट भएका छन्। प्रारम्भिक विवरणअनुसार हालसम्म करिब ११५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। वडास्तरका कार्यालयहरू र स्वास्थ्य संस्थामा भएको क्षतिको विवरण संकलन भइरहेका कारण सम्पूर्ण तथ्याङ्क तयार भएपछि कुल क्षतिको यथार्थ सार्वजनिक गरिने पनि उहाँले बताउनुभयो।

बैठकले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको छ। यसैगरी आर्थिक वर्ष २०८२/८३ मा विनियोजन गरिएको बजेटलाई संशोधन गरी संरचना पुनर्निर्माणमा प्राथमिकता दिने र आवश्यक प्रक्रिया पूरा गर्न केही दिनभित्र विशेष अधिवेशन बोलाइने तयारी रहेको जानकारी अधिकृत कर्णले दिनुभयो।

बैठकमा नगर प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य, वडाध्यक्ष तथा विभागीय प्रमुखहरूले आ–आफ्ना सुझाव प्रस्तुत गर्दै पुनर्निर्माणको कार्य ढिलाइ नगरी तत्काल सुरु गर्नुपर्नेमा जोड दिएका थिए।

गत सातादेखि वीरगन्जमा जेन–जेड आन्दोलनका नाममा भएका प्रदर्शनहरू हिंसात्मक मोड लिँदै आएका थिए। सोही क्रममा नगर प्रमुख सिंहको निवाससहित सार्वजनिक सम्पत्तिमा आगजनी गरिएको थियो। आगलागीबाट कार्यालयमा रहेका कागजात, फर्निचर, कम्प्युटरलगायत सामग्री जलेर नष्ट भएका छन्। यसैबीच, तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचानका लागि प्रहरी प्रशासनले सीसीटीभी फुटेज तथा प्रत्यक्षदर्शीका बयान संकलन गरिरहेको महानगरपालिकाले जनाएको छ।

बैठकले हालको असामान्य परिस्थितिमा वीरगन्जलाई फेरि सुचारु बनाउन र जनताको सेवामा अविच्छिन्न रूपमा लागिरहने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस