२०८२ आश्विन २८ गते, मंगलवार १०:०२

अपडेट: वीरगन्जमा सुन व्यवसायीको घरमा संयुक्त छापा, सुन–चाँदी र नगद बरामद

वीरगन्ज-
राजस्व चुहावटको सूचनाका आधारमा राजस्व अनुसन्धान कार्यालय, पथलैया बाराले सोमबार बिहान वीरगन्ज महानगरपालिका–९ गीता मन्दिर रोडस्थित सुनचाँदी व्यवसायीको घरमा छापा मारेको छ।

राजस्व टोलीले वीरगन्ज–८ मा सञ्चालनमा रहेको अभिषेक ज्वेलर्सका सञ्चालक अभिषेक सर्राफको घर, पसल र गोदाममा खानतलासी गरेको हो। छापामारी राति अबेरसम्म चलेको थियो।

राजस्व श्रोतका अनुसार सर्राफको घरबाट १ किलो ९ सय ९६ ग्राम सुन, ६ किलो ९ सय ८ ग्राम चाँदी, २ सय ८८ ग्राम पारिवारिक गहना, ३ किलो ९ सय २६ ग्राम चाँदीका सामान, ६ सय ३० ग्राम सुनजस्तो देखिने धातु, ५ किलो ५९ ग्राम चाँदीजस्तो देखिने वस्तु, १ लाख ९ हजार रुपैयाँ नेपाली नगद र ४१ हजार ६० भारतीय रुपैयाँ बरामद गरिएको छ।

राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरि प्रसाद शर्माका अनुसार सर्राफले राजस्व चुहावट गरेको भन्ने सूचनाका आधारमा छापामारी गरिएको हो। उनले भने,
“राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम कारोबारसँग सम्बन्धित कागजात, खाता, विद्युतीय माध्यम र अन्य प्रमाणहरू कब्जामा लिइएका छन्।”

छापामारीका क्रममा प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको थियो।

तर यो कारबाहीप्रति सुनचाँदी व्यवसायीहरू विरोधमा उत्रिएका छन्।
सुनचाँदी व्यवसायी संघका अध्यक्ष भुलन सर्राफले राजस्वले व्यवसायीलाई अनावश्यक दुःख दिएको आरोप लगाए।
उनले भने, “सर्वसाधारणले धितोमा सुन राख्ने गर्छन्, चाडपर्वको बेला घरमा सामग्री राख्दा पनि छापा मार्नु अनुचित हो। यसले व्यवसायी हतोत्साही बनाउँछ।”

उनका अनुसार राजस्व टोलीले अनुसन्धानका क्रममा सहयोग प्राप्त गरे पनि मुचुल्कामा समावेश गरिएका अधिकांश वस्तु व्यवसायीको परिवार र ग्राहकका गहना मात्रै हुन्।

पोडकास्ट सुन्नुहोस