२०८२ आश्विन २० गते, सोमबार १७:३६

अश्लील भिडियो बनाएर बिक्री गर्ने व्यक्ति काठमाडौंमा पक्राउ

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • पक्राउ: काठमाडौंको टोखा, ग्राण्डी बस्ने २९ वर्षीय रमेश थापालाई अश्लील भिडियो बनाएर बिक्री गरेको आरोपमा असार १३ गते प्रहरीले पक्राउ गरेको छ।
  • मुद्दा र अनुसन्धान: थापाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२१ अन्तर्गत मुद्दा दर्ता भएको छ। जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

काठमाडौं-
जिल्ला प्रहरी परिसर, काठमाडौंले अश्लील भिडियो बनाएर बिक्री वितरण गर्ने कार्यमा संलग्न २९ वर्षीय रमेश थापालाई पक्राउ गरेको छ। थापाको घर सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ मा रहेको छ भने उनी हाल काठमाडौंको टोखा नगरपालिका, ग्राण्डीमा बस्दै आएका छन्।

प्रहरीका अनुसार, थापाले नेपाल तथा विदेशमा रहेका नेपाली महिला र पुरुषहरूलाई भिडियो कलमार्फत अश्लील क्रियाकलापमा संलग्न गराउने र त्यसको भिडियो बनाएर बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई असार १३ गते पक्राउ गरेको हो।

पक्राउ परेका थापाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२१ बमोजिम ‘अश्लील किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने’ कसुरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत, काठमाडौंबाट ५ दिनको म्याद थप गरी थापामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरका सूचना अधिकारी, प्रहरी उपरीक्षक (एसपी) अपिल राज बोहराले जानकारी दिए।

पोडकास्ट सुन्नुहोस