♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
वीरगन्ज –
वीरगन्ज महानगरपालिकाले वर्षातको समयमा नगरलाई डुबानबाट जोगाउन अहोरात्र खटिएको भन्दै गरेको प्रचारलाई सोमबारको एक घण्टाको वर्षाले पूर्ण रूपमा खण्डन गरेको छ। महानगरले डुबान नियन्त्रणका लागि गरेको कामको दाबी गरे पनि छोटो समयको वर्षाले सहरका अधिकांश टोल र सडकहरू जलमग्न भएका छन्।
सोमबार दिउँसो परेको वर्षाले घण्टाघरको गोशवारारोड, श्रीपुरको ओम आश्रम टोल, रानीघाटको कृषि औजार टोललगायत महानगरका विभिन्न क्षेत्रमा पानी जम्दा स्थानीयवासीलाई सास्ती खेप्नुपरेको छ। सडकहरूमा पानी भरिएपछि सर्वसाधारण दिउँसै रात परे जसरी सिमसिमे पानी र हिलोसहितको बाटो हिँड्न बाध्य भए।

रानीघाटका स्थानीय रौनक सिंहले महानगरको कामप्रति असन्तुष्टि व्यक्त गर्दै भने, “महानगरले डुबान हुने स्थानको पहिचान र पानी निकासको उचित व्यवस्था नगरी अनावश्यक खर्च गरेको छ। मुख्य सडक र आदर्शनगरजस्ता ठाउँमा डुबान कम होला, तर महानगर भनेको यी ठाउँ मात्र होइन। सहरका भित्री टोलहरूमा जनताको करबाट उठेको पैसा खेर गएको छ, तर महानगर प्रमुखले प्रचार भने राम्रै पाए।”
मौसमविद्हरूले आगामी दिनमा थप वर्षा हुने चेतावनी दिएका छन्। सोमबारको छोटो वर्षाले नै यस्तो अवस्था भएकाले ठूलो वर्षा भएमा महानगरमा ठूलो क्षति हुन सक्ने जानकारहरूको भनाइ छ। स्थानीयवासीलाई डुबानको समस्याबाट जोगाउन महानगरले प्रभावकारी कदम चाल्नुपर्ने माग उठेको छ।