सर्वोच्च अदालतका नवनियुक्त तीन न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|

काठमाडौं-
सर्वोच्च अदालतका नवनियुक्त तीन न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले मंगलवार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । न्याय परिषद्ले गत जेठ २७ गते उहाँहरुलाई सर्वोच्च अदालतमा न्यायाधीशमा नियुक्त गर्न सिफरिस गरेको थियो ।
नवनियुक्त न्यायाधीशहरुले आजबाट नै इजलास पाउनुभएको छ । मंगलवार बिहान पद तथा गोपनीयताको शपथपछि गोलाप्रथाबाट नवनियुक्त न्यायाधीशहरुले इजलास पाउनुभएको हो । नवनियुक्त तीन जना न्यायाधीशलाई यसअघि कार्यरत वरिष्ट न्यायाधीशको नेतृत्वमा संयुक्त इजलास परेको छ ।
नवनियुक्त न्यायाधीश मेघराज पोखरेलले न्यायाधीश विनोद शर्मासँग बेन्च शेयर गर्नुहुने छ । त्यस्तै नवनियुक्त न्यायाधीश शान्तिसिंह थापाले न्यायाधीश डा। कुमार चुडालसँग र नवनियुक्त न्यायाधीश श्रीकान्त पौडेलले न्यायाधीश डा। मनोजकुमार शर्मासँग संयुक्त इजलासमा बेन्च सेयर गर्नुहुनेछ ।
न्यायाधीशहरुको शपथ कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश राउतले न्यायपालिकाप्रति जनताको विश्वास कायम राख्न नवनियुक्त न्यायाधीशहरू अहोरात्र खटिनेमा आफू विश्वस्त रहेको बताउनु भयो । उहाँले नेपालको न्याय प्रणालीमाथि जनताको विश्वास अभिवृद्धि गर्न सर्वोच्च अदालत दृढ रहेको समेत बताउनु भयो ।
उहाँले सर्वोच्च अदालतमा नवनियुक्त सहित २० जना न्यायाधीशले काम गर्दा मुद्दा फस्र्यौटको प्रक्रियाले गति लिने समेत विश्वास व्यक्त गर्नुभयो ।