काठमान्डौं-
प्रधानमन्त्री केपी शर्मा ओलीले बारास्थित परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुक्रबार उद्घाटन गरेका छन्। पालिकाले आफ्नै स्रोतबाट करिब ३ करोड २५ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आधुनिक र सुविधासम्पन्न भवनबाट अब स्थानीय बासिन्दाले गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गरे।
उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भवन निर्माणमा सहयोग गर्ने सबै क्षेत्रका सहयोगीलाई धन्यवाद दिँदै शुभकामना व्यक्त गरे। उनले आफ्नो नेतृत्वमा सुरु गरिएको हुलाकी राजमार्ग अब अन्तिम चरणमा पुगेको जानकारी दिए। “केही स्थानमा प्राविधिक समस्या र निकुञ्ज क्षेत्रका कारण ढिलाइ भए पनि काम तीव्र गतिमा अघि बढिरहेको छ,” प्रधानमन्त्री ओलीले बताए।
प्रधानमन्त्री ओलीले बारालाई माछापालन सुपरजोन घोषणा गरिएको उल्लेख गर्दै यसले किसानलाई आर्थिक रूपमा सबल बनाउन र देशलाई योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले राजनीतिक अस्थिरताका कारण विकासमा अवरोध आए पनि नेकपा एमाले र नेपाली कांग्रेस मिलेर स्थिर सरकार बनाइ विकासको गति तीव्र पारेको दाबी गरे।
उनले मधेशमा आएको सुख्खाग्रस्त अवस्थाबारे पनि टिप्पणी गर्दै तीन दिनअघि तराई–मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको स्मरण गराए। प्रधानमन्त्री ओलीले चाँडै सिँचाइ र खानेपानीको व्यवस्थापनका लागि डिप बोरिङको काम सुरु हुने जानकारी दिए। उनले सुख्खा समस्या समाधानका लागि चुरे व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्दै सुनकोशी डाइभर्सन आयोजना तीव्र गतिमा अघि बढाइने बताए।
प्रधानमन्त्री ओलीले यस वर्ष ३ हजार ५ सय पुल र ९ हजार ५३२ किलोमिटर सडक निर्माण भएको दाबी गर्दै गणतन्त्र स्थापनापछि देशमा भौतिक पूर्वाधार विकासले तीव्रता पाएको बताए।
				
															
								
															
							
								
															
															
															


															
								











