वीरगन्ज —
नारायणी अस्पतालमा उपचारका क्रममा एक कैदीको मृत्यु भएपछि उत्पन्न तनाव नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय पर्साले छानबिन समिति गठन गरेको छ।
वीरगन्ज–२५ का राहुल तुहारा आज बिहान जेलभित्र व्यायाम गर्ने क्रममा अस्वस्थ भएपछि अस्पताल पुर्याइएका थिए। नारायणी अस्पतालका चिकित्सकले थप उपचारका लागि अन्यत्र रेफर गर्न सिफारिस गरे पनि जेल प्रशासनले अनुमति नदिँदा उपचारमा ढिलाइ भई मृत्यु भएको आरोप मृतकका आफन्तले लगाएका छन्।
मृतकको परिवार र स्थानीयवासीले अस्पताल बाहिर प्रदर्शन गर्दै जेल प्रशासन र अस्पताल दुवैको लापरबाहीबारे छानबिनको माग गरेपछि प्रशासनले कदम चालेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा बनेको समितिमा मृतकको तर्फबाट मुकेश साह तुराहा, वडा नं. २५ का वडा सदस्य जगदिस साह तुराहा, मानवअधिकारकर्मी, प्रहरी, अस्पताल प्रशासनका प्रतिनिधि र मृतक परिवारका सदस्यसमेत रहेका छन्। समितिले १५ दिनभित्र घटनाको सत्यतथ्यबारे प्रतिवेदन बुझाउने जनाइएको छ।
नारायणी अस्पताल प्रशासनले भने तत्काल उपचार गरिएको र समयमै रेफर गर्न सिफारिस गरिएको दाबी गरेको छ। मृत्युको वास्तविक कारण र सम्भावित लापरबाहीबारे समितिले निष्कर्ष निकाल्नेछ।