♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
वीरगन्ज-
मधेश प्रदेशमा लम्पी स्किन रोग (Lumpy Skin Disease, LSD) तीव्र गतिमा फैलिँदै गएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पछिल्ला तथ्यांकअनुसार हालसम्म प्रदेशभर ५२ हजार ६८६ पशुमा रोग पुष्टि भएको छ। तीमध्ये २३ हजार ७०९ निको भइसकेका छन् भने १७९ पशुको मृत्यु भएको छ। पर्सा जिल्लामा मात्र १७९ सङ्क्रमण र १ मृत्यु दर्ता भएको छ।
वीरगन्ज महानगरका वडा नं. १, ८, १०, १४, १८, २१, २२, २३, २४ र ३१ मा रोगका केस देखिएका छन्। रोगको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन बुधबार नगरप्रमुख राजेशमान सिंहको निर्देशनमा पशु सेवा शाखा प्रमुख डा. सुदिप कुमार शर्मा, कृषि शाखा प्रमुख रोशनी यादवसहितको टोलीले करिब आधा दर्जन पशुपालन फार्मको निरीक्षण गरेको छ। टोलीले किसानलाई रोगको लक्षण, नियन्त्रण उपाय र गोठ व्यवस्थापनबारे विस्तृत जानकारी दिएको थियो।
पशु सेवा शाखाले संक्रमित वडामा तत्काल उपचार टोली पठाउने, औषधि उपलब्ध गराउने, जोखिम क्षेत्रमा अग्रिम खोप अभियान सञ्चालन गर्ने, किसान सचेतना कार्यक्रम गर्ने, संक्रमित जनावरलाई अलग राख्ने तथा निरन्तर निगरानी राख्ने योजना अघि बढाएको छ।
डा. शर्माले रोग फैलिन नदिन समयमै उपचार, खोप र किसानसँग प्रत्यक्ष सम्पर्कलाई मुख्य प्राथमिकता दिइएको बताए। उनले किसानलाई संक्रमित जनावरलाई अन्य पशुबाट अलग राख्न, लक्षण देखिनासाथ पशु चिकित्सकलाई जानकारी दिन, गोठ सरसफाइमा ध्यान दिन र बाहिरबाट ल्याइएका जनावरलाई कम्तीमा १४ दिन क्वारेन्टिनमा राख्न आग्रह गरे।
वीरगन्ज महानगरले रोग नियन्त्रणका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै पशु ओसार–पसार अनावश्यक रूपमा नगर्न तथा सावधानी अपनाउन सबैलाई आह्वान गरेको छ। प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले किसानलाई सतर्क रहन र जनावरको सुरक्षा सुनिश्चित गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्।