२०८२ भाद्र १ गते, आईतवार २२:०१

जनकपुर–

जनकपुरमा वकिलहरूले पत्रकारमाथि गरेको आक्रमणप्रति आपत्ति जनाउँदै पत्रकारहरू कानुनी कारबाहीको मागसहित आन्दोलनमा उत्रिएका छन्।

नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा पत्रकारहरूले आइतबार बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि धर्ना बसेका हुन्। धर्नामा सहभागीहरूले “आक्रमण गर्ने वकिललाई कारबाही गर,” “प्रेस स्वतन्त्रताको रक्षा गर,” “पत्रकारलाई सुरक्षा देऊ” भन्ने नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

गत साउन २७ गते गुठी संस्थानबाट लिजमा लिइएको चार कठ्ठा जग्गा संरक्षण गर्ने क्रममा नेपाल बार एसोसिएसन जनकपुरका पदाधिकारीसहितका वकिलहरूले पत्रकारमाथि आक्रमण गरेका थिए। सो घटनामा महासंघ प्रदेश अध्यक्ष राजेश बञ्जारा, उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, पत्रकार दिवाकर राय र अनिल निराला घाइते भएका थिए।

घटनापछि साउन २८ गते पाँच जना वकिलविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिइए पनि हालसम्म पक्राउ नभएको पत्रकार महासंघले जनाएको छ।

प्रहरी प्रशासनको उदासीनताप्रति असन्तुष्टि जनाउँदै शनिबार बसेको पत्रकार महासंघ धनुषा शाखाको भेलाले आन्दोलन गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस