काठमाडौं-
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको समयमा पार्टीले डर, लोभ र अन्योलबाट मुक्त भएर देशप्रतिको जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दे महामन्त्री थापाले यस्तो बताउनु भएको हो । नेपाली काँग्रेसले ०८४ मा आफ्नो अवस्था कस्तो होला भन्ने मानसिकता त्यागेर अगाडि बढ्न जरुरी रहेको उहाँको भनाइ छ ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले हप्ता हप्तामा आलोपालो प्रधानमन्त्री बन्ने कुरा सम्झाउने गरेको उल्लेख गर्दै थापाले पद छोड्लान कि नछोड्लान भन्ने अन्योलमा बस्न नहुने बताउनु भयो । उहाँले पार्टीको नीति र सिद्धान्तअनुसार अघि बढेर सबैखाले लोभ र डर त्याग्न नसके पार्टी संगठन कमजोर हुनेप्रति सबै सजग हुनुपर्नेमा जोड दिनुभयो ।
महामन्त्री थापाले पार्टीभित्र पठन संस्कृतिको विकास गर्नको लागि साहित्यकारहरुलाई उत्प्रेरित गर्नुपर्ने धारणा समेत राख्नुभयो । गुट छोडे पनि लेखन कार्य नछोड्न उहाँले कार्यकर्ताहरुमा आगह समेत गर्नुभयो ।