काठमाडौँ-
नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवं सांसद माधव सापकोटाले मुलुकमा विद्यमान राजनीतिक समस्याहरुको समाधान पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखमार्फत मात्र सम्भव हुने बताउनुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समिक्षाः उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पूर्ण समानुपाति निर्वाचन प्रणालीमा नजाँदासम्म संविधानबारे भइरहेका बहसहरु अर्थहीन हुने टिप्पणी गर्नुभयो ।
उहाँले सत्तारुढ प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) अझैसम्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने निर्णयमा पुग्न नसकेको औंल्याउनु भयो । उहाँले माओवादीको स्पष्ट दृष्टिकोण नै प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख र पूर्ण समानुपातिक निवार्चन प्रणाली जाने रहेको दोहोर्याउनु भयो । उहाँले सांसदहरुलाई मन्त्री बन्न नपाउने व्यवस्था गर्न सके विधायिकी काम प्रभावकारी हुने पनि तर्क गर्नुभयो ।
सापकोटाले संविधानलाई समयानुकुल संशोधन गरी जनतामुखी बनाउन प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख, सांसदहरुले मन्त्री नहुने र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई नै माओवादी केन्द्रको दीर्घकालीन दृष्टिकोणको रुपमा अघि सारिरहेको पनि बताउनु भयो ।