२०८२ भाद्र १२ गते, बिहीबार २०:१५

उखु किसान सबैभन्दा बढी अपहेलित भएका छन्ः उपेन्द्र यादव

काठमाडौं-

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले उखु किसान सबैभन्दा बढी अपहेलित भएको बताउनुभएको छ ।

बिहीवार उखु किसानको आन्दोलनमा ऐक्यबेवद्धता जनाउन माईतीघर पुग्नुभएका अध्यक्ष यादवले यस्तो बताउनुभएको हो । उहाँले सरकारले उखु किसानलाई दिनुपर्ने अनुदान तत्काल दिनुपर्ने बताउनु भयो ।

अन्नदाता किसानलाई नेपालमा राज्यले सबैभन्दा बढी उपेक्षा गरेको उहाँले आरोप लगाउनु भयो । किसानमा पनि उखु किसान अझ बढी पेलानमा परेका उहाँको भनाई छ । उहाँले किसानले उत्पादन गरेको उखु किनेर मिल सञ्चालक धनी हुने तर किसानले समयमा मूल्य नपाउने अवस्था रहेको बताउनु भयो ।

सरकारले उखु किसानलाई तत्काल रकम भुक्तानी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले मिलमा पु¥याएको एक महिनाभित्र उखु किसानलाई मिलवालाले रकम भुक्तानी गर्ने व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो ।

उहाँले आवश्यक ऐन कानून बनाएर भएपनि किसानको माग पूरा गर्नुपर्नेमा जोड दिनुभयो । वर्तमान नीतिले किसान समस्यामा परेको, गरिबी, बेरोजगार बढेको उहाँको भनाई छ ।

उखु किसानले सरकारले तोकेको प्रतिक्वीन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध नगराएको भन्दै माईतीघरमा आन्दोलन गरिरहेका छन् । सरकारले उखु किसानलाई दिने अनुदानमा आधा कटौती गरेको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस