२०८२ भाद्र २२ गते, आईतवार १५:११

बढ्दै गएको आलोचना थेग्न नसकेपछि मन्त्रीले गरे फेसबुक पोस्ट

वीरगन्ज-

किरण साह पक्राउ प्रकरणमा खानेपानी मन्त्रीको देशभरिबाट आलोचना हुन थालेपछि उनी आज (बिहीबार) सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् । मन्त्री र मेयरलाई प्रश्न गरेकै कारण किरण साह प्रहरी हिरासतमा बस्नुपरेको भाष्य देशभरि कायम हुँदै बुधबार प्रतिनिधि सभामा समेत प्रवेश पाएपछि खानेपानी मन्त्री प्रदीप यादवले आफ्नो फेसबुक खाताको वालमा ४७६ शब्द लामो धारणा सार्वजनिक गरेका हुन् ।

मन्त्री यादवले आफ्नो पोस्टमा वीरगन्जमा देखा परेको जल संकट समाधानमा खेलेको भूमिकाबारे लेख्दै जनताको पक्षमा काम गर्दा समेत आफूलाई ज्यान मार्ने धम्की आएको भाव प्रकट गर्न खोजेका छन् । वीरगन्जमा खानेपानीको हाहाकार हुँदा आफूले गर्दा नै समाधान भएको जस लिँदै मन्त्री यादवले धारणा सार्वजनिक गरेका छन् ।

जनताको पक्षमा दिनरात काम गर्दा समेत किरण साहले अकारण फोन गरी धम्की दिएको जनाउँदै उनको पोस्टको १६औं लाइनपछि १६ शब्द ‘झुठको खेती’मा खचिएका छन् । मन्त्री यादवले लेखेको पोस्टको १७औं लाइनमा किरण साहका परिवारको कुनै पनि सदस्य वीरगन्जको कुनै पनि अस्पतालमा भर्ना भएको झुठा तथ्यलाई जनतासामु पस्किएका छन् ।

किरण साहकी बहिनीको ३ वर्षीय छोरा आर्यन कुमार साह र २ वर्षीय छोरी कृतिका कुमारी साह दुवै जना अहिले पनि वीरगन्जको भेडियाहीस्थित नेशनल मेडिकल शिक्षण अस्पतालमा भर्ना रहेको तथ्य गोप्यखबरले प्रमाणसहित बुधबार नै समाचार सार्वजनिक गरे पनि मन्त्री यादवले आफ्नो बिहीबारको पोस्टमा गलत तथ्य सार्वजनिक गर्दै आम नेपाली जनतालाई झुक्याउने प्रयास गरेका छन् ।

मन्त्री यादवले लेखेको पोस्टमा आम नेपालीलाई भ्रम छर्ने काम समेत गरेका छन् । उनले किरण साह पक्राउ हुनुमा आफ्नो कुनै हात नभएको दाबी गरे पनि उनका स्वकीय सचिव हरेन्द्र साहले दिएको उजुरीकै आधारमा किरण साहलाई पक्राउ गरी तीन वटा मुद्दा चलाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय पर्साले यसअघि नै विभिन्न सञ्चारमाध्यमलाई जानकारी दिइसकेको छ ।

मन्त्री यादवले आफ्नो पोस्टमा धेरै कुरा उल्लेख गरे पनि अधिकांश वीरगन्जवासी लामो समयदेखि सोध्दै आएका प्रश्नबारे कुनै जिकिर नै गरेका छैनन् । जल संकटका बेला संघ सरकारले वीरगन्जमा कति वटा डीप बोरिङ जडान गराएको हो ? डीप बोरिङ जडान गराउने ठेक्का कुन–कुन कम्पनीलाई दिइएको हो ? डीप बोरिङ गर्दा प्रति बोरिङ सरकारले कति भुक्तानी गरेको विषयमा मन्त्री यादवले कुनै जानकारी साझा नगरेकोलाई वीरगन्जवासीले अर्थपूर्ण रूपमा देखेका छन् ।

जल संकटका आडमा ठूलो रकम हिनामिना भएको वीरगन्जवासीले फेसबुकलगायतका सामाजिक सञ्जालमा लामो समयदेखि देखाउँदै आए पनि उक्त विषयलाई मन्त्री यादवले आफ्नो पोस्टमा कुनै स्थान दिएका छैनन् ।

त्यस्तै पानी वितरण गर्दा नेपाल सरकारले नै निर्धारण गरेको मापदण्डलाई किन पालना गरिएन र त्यसको दोष कसलाई दिने भन्ने विषयलाई मन्त्री यादवले आफ्नो प्रस्टोक्तीमा गौण राखेका छन् । जल संकट समाधानको जस मन्त्री यादवले लिने हो भने पानी वितरणका क्रममा भएका त्रुटिका कारण झाडापखाला फैलिई केही व्यक्तिले ज्यान गुमाएको दोष पनि मन्त्री यादवले नै लिनुपर्ने आम बुझाइ रहेको छ ।

पहिले वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले र अहिले खानेपानी मन्त्री यादवले किरण साहका परिवारको कुनै पनि सदस्य बिरामी नभएको झुठ बोलेको सन्दर्भ अहिले वीरगन्जको चौक–चौराहामा चिया–चर्चाको विषय बनेको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस