वीरगन्ज –
वीरगन्जमा चर्किँदै गएको युवा आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको छ।
मंगलवार विहानै प्रदर्शनमा उत्रिएका युवाहरूले वीरगन्ज महानगरपालिकाको कार्यालयमा प्रवेश गरी तोडफोड गरेका साथै त्यहाँ रहेका सरकारी वाहनमा आगजनी पनि गरेका छन्। प्रदर्शनकारी युवाहरूको समूहले महानगरपालिकाको मुख्य प्रवेशद्वारबाट कार्यालयभित्र पस्दै गर्दा गेटको छेउमा रहेको नगरप्रहरी कार्यालयमा पहिले तोडफोड गरेको र त्यसपछि कार्यालयको दक्षिणतर्फ पार्किङमा राखिएका वाहनमा आगजनी गरेको पर्सा प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्राले जानकारी दिनुभयो कि वीरगन्जको घण्टाघर चोकमा अवस्थित नेपाल दूरसञ्चारको वीरगन्ज वितरण केन्द्रमा पनि प्रदर्शनकारीले प्रवेश गरी तोडफोड गरेका साथै कार्यालयका तीनवटा वाहनमा आगजनी गरेका छन्। उहाँले वीरगन्जको घडीआरस्थित आन्तरिक राजस्व कार्यालयमा पनि आन्दोलनकारीले प्रवेश गरी तोडफोड र आगजनी गरेको बताउनुभयो।
सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीबाट भएको क्षतिको वास्तविक विवरण अहिलेसम्म आउन सकेको छैन, उहाँले जानकारी दिनुभयो।
पर्सा जिल्लामा उग्र बन्दै गएको युवा आन्दोलनले वीरगन्जको रामगढवामा अवस्थित नेकपा एमाले र नेपाली कांग्रेसको पार्टी कार्यालयमा पनि तोडफोड र आगजनी गरेको एसपी मिश्राले बताउनुभयो। उहाँले वीरगन्ज महानगरपालिकाको कार्यालयमा भएको आगजनी नियन्त्रण गर्ने प्रयास भइरहेको र सरकारी कार्यालयहरूको सुरक्षा कडा गरिएको जानकारी दिनुभयो।
आन्दोलनकारीले ढुङ्गा प्रहार गर्दा ठूलो संख्यामा सुरक्षाकर्मी घाइते भएका छन्। घाइते सुरक्षाकर्मीलाई वीरगन्जका विभिन्न अस्पतालमा भर्ना गरिएको छ।
वीरगन्जको सुरक्षा व्यवस्था अत्यन्त चिन्ताजनक अवस्थामा पुगेको छ। आन्दोलनकारीहरूले रानीघाट, घण्टाघरलगायत विभिन्न स्थानमा रहेका प्रहरी चौकीहरूमा पनि तोडफोड र आगजनी गरेका छन्।