२०८२ आश्विन २० गते, सोमबार १५:५१

जेनजी आन्दोलनका क्रममा वीरगन्जमा करिब ३० करोड रुपैयाँको व्यक्तिगत सम्पत्तिमा क्षति

प्रहरी प्रतिवेदनअनुसार आन्दोलनकारीले घरभित्र रहेका गरगहना र नगद लुटे

वीरगन्ज-

‘जेनजी’ अर्थात् युवा पुस्ताले गरेको आन्दोलनका क्रममा वीरगन्जमा २४ घण्टाभित्रै ३० करोड रुपैयाँभन्दा बढीको व्यक्तिगत सम्पत्तिमा क्षति पुगेको छ। भदौ २४ गते पर्सा जिल्लामा भएको यस आन्दोलनका क्रममा सार्वजनिक पद धारण गरेका पूर्व मुख्यमन्त्री, पूर्व सङ्घीय मन्त्री, स्थानीय तहका प्रमुख तथा उद्योगपतिहरूको निजी निवासमा आगजनी, तोडफोड र लुटपाट हुँदा २९ करोड ४० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक प्रहरी प्रतिवेदनमा उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको जानकारीअनुसार भदौ २४ गतेको आन्दोलनमा एक जना पूर्व मुख्यमन्त्री, तीन जना पूर्व सङ्घीय मन्त्री, दुई जना पालिका प्रमुख र एक जना व्यापारीको घरमा आगजनी तथा लुटपाट भएको छ।

आन्दोलनकारीले गरेको आक्रमणमा सबैभन्दा बढी क्षति नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा वरिष्ठ उद्योगपति अनिल रुँगटाको घरमा पुगेको प्रतिवेदनमा जनाइएको छ। वीरगन्ज महानगरपालिकाको तेजारथ टोलस्थित रुँगटाको घरमा भएको आक्रमण र लुटपाटमा १३ करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति हुनुका साथै नगद र गरगहना समेत लुटिएका छन्। आन्दोलनकारीले दिउँसोको समयमा रुँगटाको घरभित्र प्रवेश गरी अत्याधुनिक सुविधासम्पन्न तीन वटा भवनमा तोडफोड, आगजनी तथा लुटपाट गरेको प्रहरीले जनाएको छ। आगजनीका कारण ती तीनै भवन पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।

त्यस्तै, वीरगन्ज महानगरपालिकाको वडा नं. १३, राधेमाई टोलस्थित पूर्व खानेपानी मन्त्री प्रदीप यादवको घरमा आन्दोलनकारीले गरेको आक्रमणबाट ८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। तोडफोड र आगजनीको क्रममा घरभित्र रहेका सुन–चाँदीका गरगहना, नगद तथा अन्य मूल्यवान सामान समेत लुटिएको प्रतिवेदनमा उल्लेख छ।

वीरगन्ज महानगरपालिकाको वडा नं. ११ मा अवस्थित नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व कानुन, न्याय मन्त्री अजय कुमार चौरसिया र पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको निजी निवासमा भएको तोडफोड, आगजनी तथा लुटपाटमा २/२ करोड रुपैयाँभन्दा बढीको सम्पत्ति क्षति भएको प्रहरीले जनाएको छ। दुवै घरमा रहेका सुन–चाँदीका गरगहना, नगद तथा मूल्यवान सामान लुटिएका छन् भने आगजनीका कारण भवनमा ठूलो क्षति पुगेको छ।

वीरगन्जको छपकैयास्थित नगर प्रमुख राजेशमान सिंहको दुई वटा निजी निवासमा आन्दोलनकारीले आक्रमण गरी तोडफोड, आगजनी तथा लुटपाट गर्दा ३ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रतिवेदनमा उल्लेख छ। बस्ने घर र नयाँ बनेको भवन दुवैमा आगजनी हुँदा भवनभित्र रहेका सुन–चाँदीका गरगहना, नगद र अन्य सामग्री लुटिएका छन्।

त्यसैगरी, वीरगन्जको तेजारथ टोलस्थित मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीको निजी निवासमा आन्दोलनकारी समूहले आक्रमण गरी नगद र जिन्सी सामान लुट्नुका साथै भवनमा आगजनी गर्दा १ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ।

यस्तै, पर्साको जिराभवानी गाउँपालिका–२ स्थित गाउँपालिका प्रमुखको घरमा गरिएको आगजनीमा करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।

प्रहरी प्रतिवेदनअनुसार भदौ २४ गतेका दिन आन्दोलनकारीले आक्रमण गरेका सबै घरमा विशेषगरी बहुमूल्य वस्तु तथा सामान लुटिएका छन्। जसलाई लान नसकिने वा भारी सामानलाई भने आगजनी गरिएको छ।

पोडकास्ट सुन्नुहोस