२०८२ आश्विन २० गते, सोमबार १२:५७

आन्दोलनकारीले पर्सामा जलाए ११ प्रहरी चौकी

आन्दोलनमा १५ सुरक्षाकर्मी र दुई आन्दोलनकारी घाइते

वीरगन्ज-
प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार, भदौं २४ गतेको आन्दोलनका क्रममा जिल्लाका विभिन्न स्थानमा रहेका ११ वटा प्रहरी चौकीमा तोडफोड, आगजनी तथा लुटपाट हुँदा २७ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

आन्दोलनकारीले इलाका प्रहरी कार्यालय सुगौली–विर्ता, गण्डक चौहरी चौकी, प्रहरी चौकी खेसराहा, अस्थायी प्रहरी पोष्ट घण्टाघर, अस्थायी प्रहरी पोष्ट शिवपार्वती (घडिअर्वा), अस्थायी प्रहरी पोष्ट रानीघाट, अस्थायी प्रहरी पोष्ट इनर्वागाउँ, सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया, सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर (ग्रिनसिटी), प्रहरी चौकी गणेशटोल र अस्थायी प्रहरी पोष्ट सुर्जाहा कट्टीमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

आन्दोलनका क्रममा भएको दोहोरो झडपमा दुई जना आन्दोलनकारी र १५ जना सुरक्षाकर्मी घाइते भएका थिए। आगलागीमा परेर दुई जना गम्भीर घाइते भए, जस मध्ये एक जनाको मृत्यु भइसकेको छ।

वीरगन्ज महानगरपालिका वडा नं. १३ मा रहेको वरिष्ठ उद्योगपति अनिल रुङ्गटाको घरमा आन्दोलनकारीले आगजनी गर्दा पर्सा सखुवा प्रसौनी गाउँपालिका वडा नं. २ निवासी ४५ वर्षीया शोसिला देवी र भारत बिहार सुगौलीका १८ वर्षीय विनय यादव गम्भीर घाइते भएका थिए। उपचारकै क्रममा शोसिला देवीको असार ७ गते मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते विनय यादवलाई हाल पनि काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचारका लागि राखिएको छ। उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको प्रहरीले जनाएको छ।

पोडकास्ट सुन्नुहोस